फागुन २० :

केपी ओली कप फुटबल प्रतियोगिताको फाइनल खेल अहिले जारी रहेको छ । उपाधिका लागि मच्छिन्द्र एफसी र त्रिभुवन आर्मी क्लबबीच अहिले दशरथ रंगशालामा प्रतिस्पर्धा भइरहेको छ ।

मच्छिन्द्रले सेमिफाइनलमा आयोजक केपी एफसी र आर्मीले संकटा क्लबलाई हराउँदै फाइनलमा भेट पक्का गरेका हुन् । प्रतियोगिताको विजेताले १५ लाख ११ हजार एक सय ११ रुपैयाँ पाउनेछन् भने उपविजेताले ५ लाखसहित ट्रफी, प्रमाणपत्र र मेडल पाउनेछन् ।

त्यस्तै, सर्वोत्कृष्ट खेलाडीले एक लाख, उत्कृष्ट गोलरक्षक, गोलकर्ता र उदीयमान खेलाडीले समान ५० हजार पाउनेछन् । फाइनल खेलको प्रमुख अतिथिको रुपमा विश्वचर्चित फुटबल खेलाडी इटलीका लिजेण्ड गोलकिपर जियानलुइजी बुफन रहनेछन् । उनी हिजो नै नेपाल आइसकेका छन् ।