काठमाडौं, फागुन २० :

नेपाल टेलिकमले नेपाली चलचित्र उद्योगकी ख्यातिप्राप्त नायिका स्वस्तिमा खड्कालाई ‘ब्रान्ड एम्बेसडर’ नियुक्त गरेको छ ।

कलाकारिताको क्षेत्रमा विशिष्ठ पहिचान बनाइ सफल अभिनेत्रीका रुपमा चिनिएकी चलचित्रकर्मी खड्कालाई कम्पनीको ‘ब्रान्ड एम्बेसडर’ नियुक्त गरेको टेलिकमले जनाएको छ । टेलिकमको केन्द्रीय कार्यालयमा सोमबार आयोजित एक कार्यक्रममा यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सम्झौतापत्रमा टेलिकमका तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) का साथै स्वस्तिमाले हस्ताक्षर गरिन् । त्यस अवसरमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक अर्यालले नेपाली चलचित्र क्षेत्रको ख्यातिप्राप्त कलाकारसँगको सहकार्यले कम्पनीका सेवाहरुको प्रवर्धन एवं बजारीकरण कार्यमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै कम्पनीसँग आबद्धता तथा सहकार्यका लागि अभिनेत्री खड्काप्रति आभार प्रकट गरिन् ।

कार्यक्रममा ब्रान्ड एम्बेसडर खड्काले नेपाल टेलिकमजस्तो गरिमामय एवं सुपरिचित संस्थासँग आबद्ध हुन पाउँदा खुसी व्यक्त गरिन् । उनले ब्रान्ड एम्बेसडरका रुपमा कम्पनीको हित अभिवृद्धि हुने गरी कार्य गर्ने प्रतिबद्धता जनाइन् ।

सम्झौतापछि ब्रान्ड एम्बेसडरले नेपाल टेलिकमका सेवाको प्रचार, व्यापार प्रवर्धन तथा ब्रान्ड संरक्षणसम्बन्धी कार्यहरु गर्नेछिन् । हाल एक वर्षका लागि सम्झौता सम्पन्न भएको र दुवै पक्षको आपसी सहमतिमा सम्झौताको अवधि थप गर्न सकिने व्यवस्थासमेत सम्झौतापत्रमा उल्लेख छ ।