काठमाडौँ, फागुन २२ :

काठमाडौँ महानगरपालिका- २९ मैतीदेवीचोकस्थित श्री गोदा वेणुगोपाल भगवान्को नवनिर्मित मन्दिरमा आजदेखि विशेष धार्मिक अनुष्ठान आयोजना गरिने भएको छ । 

यही फागुन २६ गतेसम्म आयोजना हुने कार्यक्रमअन्तर्गत गोदा वेणुगोपाल भगवान्को प्राणप्रतिष्ठा एवं महासंप्रोक्षण अनुष्ठान गर्ने कार्यक्रम छ । आज बुधबार साँझ सभा प्रार्थना, २२ गते ध्वजकुम्भादि आराधना, अग्निप्रतिष्ठा, वेदादि पारायण, २३ गते शान्तिपाठ, तीर्थगोष्ठी, पूर्णाहूति, २४ गते अष्टाक्षरी वासुदेव- हवन, २५ गते तत्वन्यास हवनादिलगायत कार्यक्रम आयोजना गरिनेछ । साथै फागुन २६ गते मासबलि, महापूर्णाहूति महासंप्रोक्षणलगायत कार्यक्रम तय गरिएको मन्दिरका मठाधीश स्वामी यतीन्द्राचार्यले जानकारी दिए ।

अनुष्ठान  तोताद्रिमठका पीठाधिपति श्री १००८ रामानुज जीयर स्वामीजीको प्रमुख आचार्यत्वमा सम्पन्न हुनेछ । कार्यक्रमअन्तर्गत साधारण अर्चनादेखि विशेष कर्ता बन्न मिल्ने सेवाक्रम तय गरिएको छ । एक हजार १०० मा साधारण अर्चनादेखि सात लाखमा अर्चनासहित विशेष कर्ता बन्न सकिने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मुकुन्द अधिकारीले बताए । समारोहमा नेपाल र भारतका विभिन्न आचार्य, साधुसन्त एवं धर्मानुरागीलाई आमन्त्रण गरिएको छ । 

वि. सं २०२२ मा बैकुण्ठवासी श्री १००८ श्री निवासाचार्य स्वामीजीले स्थापना गरेको मन्दिर वि.सं २०७२ को भूकम्पमा क्षतिग्रस्त भएको थियो । भूकम्पले क्षति भएको मन्दिर सङ्घ, प्रदेश, स्थानीय तहका सरकार र भक्तजनको सहयोगमा करिब १६ करोडको लागतमा मन्दिर पुनः निर्माण गरिएको थियो । 

मन्दिर पुनःनिर्माणका लागि यस क्षेत्रबाट निर्वाचित उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले पनि सहयोग गरेका थिए ।

मन्दिरमा विसं २०२२ देखि वैष्णवीय दीक्षाका साथै वैदिक सनातन धर्मको प्रचारप्रसार हुँदै आएको छ ।