म्याग्दी, फागुन २५ :

नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरद्वारा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको बाँध पहिराको जोखिममा परेको छ ।

रघुगङ्गा गाउँपालिका–४ दग्नाम र ५ झिँको फेदीमा धौलागिरि हिमालको फेदीबाट बगेर आउने राहुघाट नदीको पानीलाई थुनेर सुरुङमा छिराउन निर्माणको अन्तिम चरणमा पुगेको बाँध पहिराको जोखिममा परेको हो । दग्नाम गाउँको फेदीमा सिर्जना भएको नयाँ पहिरो राहुघाट जलविद्युत् आयोजनाको बाँधको सिधा माथि छ ।

गत वर्षको बर्खामा सोही पहिरोबाट आएको गेगर निर्माणाधीन बाँधमा थुप्रिएर क्षति पुगेको थियो । पहिरो माथि रहेको दग्नाम गाउँ र फेदीको बाँधलाई जोखिम बनाएको छ । आयोजनाका प्रमुख राजबहादुर विष्टले पहिराको नियन्त्रणका लागि अध्ययन थालिएको बताए ।

‘बाँधको ठीकमाथि नयाँ सिर्जना पहिराले पार्न सक्ने क्षतिको आँकलन गरेर नियन्त्रणका लागि अध्ययन थालिएको छ,’ उनले भने, ‘प्राविधिक टोलीको अध्ययन प्रतिवेदन र सुझावको पर्खाइमा छौँ ।’

सत्र मिटर अग्लो र ३१ मिटर लामो अर्धजलाशययुक्त (पिआरओआर) प्रविधिको बाँधसँगै राहुघाट नदीको दायाँ किनारमा डिसेन्डर (पानी थिग्राउने) पोखरी निर्माणाधीन छन् । बाँध, डिसेन्टर र इनलेट (सुरुङको प्रवेशविन्दु) को ठीक करिब तीन सय मिटरमाथि पहिरो सिर्जना भएको हो ।

यसैबीच आयोजनाको हालसम्मको भौतिक प्रगति ८२ प्रतिशत पुगेको छ । सिभिल ठेकेदार जयप्रकाश एसोसियट्सले बाँध, सुरुङ, विद्युत्गृह निर्माणको काम अन्तिम चरणमा पु¥याएको छ । आगामी २०८२ असार १५ भित्र राहुघाट निर्माण सम्पन्न गर्ने कार्ययोजनासहित निर्माणलाई तीव्रता दिइएको आयोजनाको सिभिल महाशाखाका प्रमुख रविन कट्टेलले बताए ।