
फाइल फोटो ।
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने विषयमा सरकार अनावश्यक रूपमा लागेको आरोप लगाएका छन्।
सिन्धुली क्षेत्र नम्बर १ को प्रथम क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै उनले सरकारका अन्य महत्वपूर्ण काम छाडेर कुलमानमाथि किचकिच गरिरहेको टिप्पणी गरे।
महामन्त्री थापाले सरकारलाई चेतावनी दिँदै भने, ‘५० वटा राम्रो काम गर्दा पनि एउटा नराम्रो काम भयो भने त्यसले सबै राम्रा कामलाई छायाँ पार्छ। कि राम्रो गर्नुस्, नसके कम्तीमा नराम्रो काम नगर्नुस्।’
ऊर्जा मन्त्रालयले कुलमान घिसिङलाई हटाउने विषयमा देखाएको तदारुकता प्रति असन्तुष्टि व्यक्त गर्दै थापाले भने, ‘ती व्यक्ति तीन-चार महिनापछि सेवानिवृत्त हुँदैछन्। सेवा निवृत्त भएपछि उपयुक्त मान्छे ल्याएर नेतृत्व दिन सकिन्छ, तर सरकार नै एउटा व्यक्तिको पछि लागेको जस्तो देखिनु उचित होइन।’
महामन्त्री थापाले ऊर्जामन्त्री दीपक खड्कालाई यस्तो अनावश्यक काम नगर्न सुझाव दिए। साथै, उनले प्रधानमन्त्रीले सरकारका मन्त्रीहरूलाई सही बाटोमा ल्याउन भूमिका खेल्नुपर्ने बताए । ‘मन्त्रीहरू नचाहिने काममा लागे भने त्यसलाई रोक्ने जिम्मेवारी प्रधानमन्त्रीको हो। प्रधानमन्त्री भनेकै मन्त्रिपरिषद्को नेतृत्वकर्ता हो,उनले भने, ‘राम्रो कामको श्रेय पनि उसैले पाउँछ, नराम्रो कामको अपजस पनि लिनुपर्छ।’
महामन्त्री थापाले काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको विषयमा भइरहेको विवादलाई लिएर पनि सरकारको ध्यानाकर्षण गराएका छन्। उनले सरकारले अनावश्यक विवाद सिर्जना गर्नुभन्दा राम्रो काममा ध्यान दिनुपर्ने सुझाव दिए।