
जिल्लाका माथिल्लो भेगमा आंशिक हिमपात हुनथालेपछि किसाना खुसी हुन थालेका छन् ।
ढिला गरी भएको हिमपातले हिमाल टलक्क टल्केका देखिन्छ । पछिल्ला दिनमा जिल्ला सदरमुकाम चामेदेखि माथिल्लो मनाङसम्म हिमपात हुँदै आएको छ । तल्लो क्षेत्रमा भने हालसम्म हिउँ पर्न सकेको छैन । समयमा हिमपात नहुँदा चिन्तित बनेका यहाँका किसान खुसी भएका हुन् । हिमपातले खेतीपातीमा सहयोग पुग्ने किसान याङदुङ गुरुङले बताए ।
ढिला गरी हिउँ पर्दा सिँचाइ राम्रोसँग हुन पाउँदैन तर पनि केही राहतचाहिँ हुने उनले बताए । पानीको काम नै हिउँले गर्छ । हिउँ नपरेको बेलामा समेत चिसोले खोलानाला, झरना, तालका पानी जम्ने भएकाले सिँचाइमा समस्या हुने गरेको उनले बताए ।
पानी मुहानमै जमेर समस्या हुने भएकाले सिँचाइका अन्य विकल्प उपयोग गर्न सकस हुने गरेको छ । विभिन्न आयोजना तथा योजना परे पनि मुहानमा चिसोले जम्ने हुँदा सिँचाइका वैकल्पिक तवरबाट किसानले सिँचाइ गर्न सक्दैनन् ।
हिमालमा हिउँ देखिन थालेपछि पर्यटकको आकर्षण बढ्दै गएको छ । पहिले कालापत्थर देखिने हिमालमा हिउँ देखेपछि लोभिन थालेका पर्यटक बताउँछन् ।
जिल्लामा पर्यटक आगमनको याम सुरु भएको छ । दुई याम गरी मनाङमा पर्यटक घुम्न पुग्ने गर्छन् । दुई यामको छुट्टाछुट्टै रकम तिर्नुपर्ने प्रावधान निर्धारण गरिएको छ ।