काठमाडौं, फागुन २६ :

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का पूर्वप्रमुख वैज्ञानिक तथा स्वास्थ्य मन्त्रालयका सल्लाहकार सौम्या स्वामिनाथनले एक व्यक्तिले कति समय काम गर्ने भन्ने विषयमा आफ्नो धारणा प्रस्तुत गरेकी छन् ।

उनले भनेकी छन् कि- मानिसहरूले आफ्नो शरीरको कुरा सुन्नुपर्छ र शरीरलाई आवश्यक पर्दा आराम लिनुपर्छ । यदि यसो गरिएन भने काम गर्ने क्षमतामा असर पर्न सक्छ ।

समाचार एजेन्सी पीटीआईलाई दिएको अन्तर्वार्तामा स्वामिनाथनले भनेकी छन्, ‘कि कोभिड-१९ को समयमा देखिएजस्तै छोटो अवधिमा धेरै काम गर्न सकिन्छ, तर यो लामो समयसम्म हुन सक्दैन ।’

सौम्या स्वामिनाथनले उत्पादकत्व कामको गुणस्तरमा निर्भर गर्ने कुरामा जोड दिएकी छन् । काम गर्न बिताएको समय भन्दा पनि गुणस्तरीय कामलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ रह्यो ।

‘मलाई थाहा छ केही मानिसहरू धेरै कडा परिश्रम गर्छन् । त्यसैले, मलाई लाग्छ यो व्यक्तिगत मामिला हो । तपाईं थकित हुँदा तपाईंको शरीरले तपाईंलाई बताउँछ । त्यसपछि तपाईंले आफ्नो शरीरको कुरा सुन्नुपर्छ,’ सौम्या स्वामिनाथनले भन्छिन्, ‘तपाईं केही महिना कडा परिश्रम गर्न सक्नुहुन्छ । जस्तै हामीले कोभिडको समयमा गरेका थियौं । तर के हामी यसलाई धेरै वर्षसम्म निरन्तरता दिन सक्छौं ? मलाई त्यस्तो लाग्दैन ।’

उनले त्यस अवस्थामा मानिसहरु विभिन्न विषयले चिन्तित रहेको पनि जनाइन् । ‘हामीले त्यो दुई-तीन वर्षसम्म गर्यौं । हामीलाई पनि धेरै निद्रा लागेन । हामी धेरैजसो समय तनावमा थियौं । धेरै कुराबारे चिन्तित थियौं । विशेषगरी स्वास्थ्य सेवासँग सम्बन्धित व्यक्तिहरू दिनरात काम गरिरहेका थिए,’ उनले भनिन्, ‘त्यसपछि धेरै मानिसले यो पेसा छाडे । यो पेसा छाड्ने काम त छोटो अवधिमा गर्न सकिन्छ । तर यो वास्तवमै दिगो हुँदैन । अर्थात् जीवनलाई सहज बनाउँदैन ।’ -बीबीसी हिन्दी