काठमाडौं, फागुन २६ :

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जा मन्त्रालयलाई स्पष्टीकरण बुझाएका छन् । मन्त्रिपरिषद्ले निर्णय गरे बमोजिम उर्जा मन्त्रालयले सोधेको तीनदिने स्पष्टीकरणको घिसिङले जवाफ दिएका हुन् ।  घिसिङले आज बुझाएको स्पष्टीकरणमा आफूलाई कारबाही गर्नुपर्ने कुनै कारण नभएको दाबी गरेका छन् ।

स्पष्टीकरणमा घिसिङले कार्यकारी निर्देशकको नेतृत्व लिएपछि लोडसेडिङ अन्त्य भएको, घाटामा रहेको संस्थालाई निरन्तर नाफामा पुर्‍याएको, प्रभावकारी रूपमा चुहावट नियन्त्रण गरेको, भारत र बंगलादेशसम्म विद्युत् निर्यात गरी उल्लेख्य वैदेशिक मुद्रा आर्जन गर्न सफल भएको दाबी गरेका छन् । मन्त्री दीपक खड्काले प्राधिकरणको नाफामाथि प्रश्न उठाएका थिए ।

स्पष्टीकरणपत्रमा घिसिङले मन्त्री खड्काले आफैँले हस्ताक्षर गरेको नाफाको अंकलाई कागजी नाफा भनेको भन्दै प्रश्न उठाएका छन् । प्रतिनिधिसभाको यही फागुन २२ मा बसेको बैठकलाई सम्बोधन गर्दा प्राधिकरणको वित्तीय विवरणका बारेमा मन्त्री खड्काले दिएको अभिव्यक्ति तथ्यहीन र आपत्तिजनक भएको घिसिङले उल्लेख गरेका छन् ।