त्रिशूली, फागुन २७ :

नुवाकोट जिल्ला पूर्णखोप सुनिश्चितता भएको घोषणा गरिएको छ ।

पूर्ण खोपयुक्त सुनिश्चितताको लागि तोकिएका मापदण्ड पूरा भएसँगै जिल्ला खोप समन्वय समितिको आयोजनामा आइतबार जनस्वास्थ्य कार्यालयमा आयोजित विशेष कार्यक्रमबीच बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पूर्ण खोपयुक्त सुनिश्चितता भएको प्रमाणपत्र प्रदान गरेका हुन् ।

मुख्यमन्त्री तामाङले समितिका संयोजक एवम् जिल्ला समन्वय समितिका प्रमुख रजिन्द्र विक्रमसिंह ठकुरीलाई प्रमाणपत्र प्रदान गर्दै आगामी दिनमा राष्ट्रिय अभियानका खोप कार्यक्रमको आवश्यक प्रक्रिया र क्रियाकलाप अवलम्बन गर्ने प्रतिबद्धता पूरा गर्न स्मरण गराए ।

पूर्ण खोप सुनिश्चितता घोषणा गर्ने कार्यक्रम अन्तरगत नुवाकोट जिल्ला सबैभन्दा अन्तिममा रहेको बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापामगरले जानकारी दिए । नुवाकोटले विसं २०७८ वैशाखमा घोषणाको लागि माग गरेको अनुमति र त्यस पश्चातका प्रयासमा तोकिएका मापदण्ड पूरा गर्न नसकेपछि घोषणा कार्यक्रम रोकिँदै आएको थियो । 

नुवाकोटले प्रमाणपत्र पाएसँगै अब बागमती प्रदेशसहित नेपाललाई पूर्ण खोप सुनिश्चितता भएको घोषणा गर्न बाटो खुला भएको स्वास्थ्यमन्त्री थापा मगरको भनाइ छ ।

राष्ट्रिय खोप तालिकामा समावेश भएका १५ महिना उमेरभित्रका बालबालिकाले पाउनु पर्ने सबै खोपको पूर्ण मात्र लिएको एवम् अन्य खोप थप गर्न परेमा त्यसलाई समेत समावेश भएको सुनिश्चित भएसँगै पूर्ण खोपयुक्त भएको घोषणा गरिएको हो ।

नुवाकोट जिल्लामा जन्मेदेखि १५ महिना उमेर समूहका तीन हजार ५८१ सबै बालबालिकाले खोप पाएको जनस्वास्थ्य प्रमुख महेन्द्रध्वज अधिकारीले जानकारी दिए । उनका अनुसार खोपको पूरा मात्रा लगाएपछि वडा र स्थानीय तहको घोषणा, कोही छुट भएकी भनेर गरिएको सर्वेक्षण र छुट खोप कार्यक्रम सञ्चालन गरेर सबै बालिकालाई खोप कार्यक्रममा समावेश गरिएको छ ।

बच्चा जन्मेदेखि १५ महिनासम्ममा बीसीजी, रोटा, पोलियो, एफआइपीभी, पीसीभी, डीपीटी, हेपाटाइटिस- बी, हिब, दादुरा- रुवेला र जापनीज इन्सेफलाइटिस विरुद्धका विभिन्न चरणका खोप निर्धारित तालिकामा तोकिएअनुसार प्रदान गरेको सुनिश्चित भएपछि मात्रै पूर्ण खोपयुक्त भएको घोषणा हुने गरेको छ ।