गण्डकी, फागुन २७ :

पूर्वाधार र व्यवस्थापन अभावमा लामो समयदेखि अस्तव्यस्त बनेको पोखराको सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रको सुधार र सेवा विस्तारसँगै पछिल्लो समय सेवाग्राहीको चाप बढ्दै गएको छ ।

पुरानो भवन मर्मतसम्भारसहित आवश्यक संरचना थपेर नयाँ व्यवस्थापनका साथ सेवा दिइएको केन्द्रका प्रमुख कुश्मराज सुवेदीले बताए ।   

दैनिक सरदर तीन सय बिरामी आउने उक्त केन्द्रमा जनशक्ति र उपकरण पनि थप गरी सेवालाई प्रभावकारी बनाइएको उनको भनाइ छ । पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखाअन्तर्गत वि.सं २०७५ पुसमा स्थापना भएको उक्त केन्द्रमा जनशक्ति र उपकरणको अभाव रहँदै आएको थियो । यसअघि प्रयोगशाला र भान्छा एउटै कोठाबाट सञ्चालन हुँदै आएकामा अहिले त्यसलाई छुट्टाछुट्टै कोठाबाट सञ्चालन गरिएको उनले बताए । 

महानगरअन्तर्गतका स्वास्थ्य संस्थामध्ये सबैभन्दा बढी बिरामी आउने उक्त केन्द्रलाई सुविधासम्पन्न बनाउन पहल भइरहेको प्रमुख सुवेदीले बताए । 

प्रयोगशाला सेवा अनलाइन प्रणालीबाट सञ्चालनमा आइसकेको र भिडियो एक्सरेका लागि उपकरण ल्याउने प्रक्रिया अगाडि बढेको उनले जानकारी दिए ।

पूर्वाधारसहित जनशक्ति र स्रोतको व्यवस्थापन गर्न सकेमा यो केन्द्रलाई पोखरा महानगरपालिकाकै सुविधासम्पन्न स्वास्थ्य संस्था बनाउन सकिने उनको भनाइ छ ।