काठमाडौं, फागुन २७ :

राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनको कारक नभएर पनि मार खेप्नुपर्ने नेपालजस्ता मुलुकहरूका लागि जलवायु न्यायको विषय हरेक अन्तर्राराष्ट्रिय मञ्चहरूमा उठ्न जरुरी भएको बताएका छन् ।

भौगर्भिक समाजद्वारा सोमबार आयोजित नेपाल भौगर्भिक सम्मेलनको उद्‌घाटन गर्दै उनले जलवायु न्यायको मुद्दालाई विश्वजगतमा पुर्‍याउनुपर्ने धारणा राखे । राष्ट्रपति पौडेलले ‘जलवायु परिवर्तनका असरहरूको न्यूनीकरण, प्राकृतिक प्रकोप र भूविपत्को व्यवस्थापन’ जस्तो जल्दोबल्दो विषय मूल कथ्य रहेकाले भौगर्भिक सम्मेलनको महत्त्वलाई बढाएको बताए । उनले यो मानव दैनन्दिनीसँग प्रत्यक्ष सरोकार रहेको विषय भइसकेको स्पष्ट पारे ।

उनले विश्वका अतिशय विकसित मुलुकहरूमा भएको अन्धाधुन्ध औद्योगिकीकरण, जीवाष्म इन्धनको दोहन, कार्बन उत्सर्जनले कार्बन उत्सर्जनमा नगण्य योगदान गर्ने नेपालजस्तो विकासशील देशमा झन् बढी असर परेको पनि उल्लेख गरे ।



राष्ट्रपति पौडेलले पृथ्वीको तापक्रममा वृद्धि भइरहेको र विगत तीन दशकको अवधिमा हिमालयमा रहेका हिमनदीहरूको हिउँ एकतिहाइ घटिसकेको उल्लेख गर्दै हिमतालहरू विस्फोटनको संघारमा रहेको दाबी गरे । उनले अतिवृष्टिबाट हुने जलप्रकोप, पहिरो र भूक्षयबाट बर्सेनि थुप्रै जनधनको क्षति भइरहेको स्मरण गराए ।

उनले हिमालय पर्वत शृंखलामा बेलाबेलामा गइरहने भूकम्प पनि नेपालको विकास निर्माणका लागि समस्याका रूपमा रहेको धारणा राखे । उनले केही प्राकृतिक प्रकोपहरूको पूर्वानुमान गर्ने पद्धतिको विकास भइसकेको भए पनि भूकम्पसम्बन्धी पूर्वानुमान गर्न सकिने संयन्त्र आजपर्यन्त पत्ता लगाउन नसकिएको दाबी गरे ।

राष्ट्रपति पौडेलले भने, ‘२०७२ सालमा महाभूकम्प गएको एकदशक पुग्न लागेको पूर्वसन्ध्यामा त्यसको मिमांसा पनि यस सम्मेलनमा गरिने भएकाले यसको महत्त्व विशेष रूपमा रहेको छ भन्ने मैले ठानेको छु ।’

राष्ट्रपति पौडेलले सम्मेलनमा नेपालका खानीखनिजको अवस्थिति, अन्वेषण, भूविपत्, जलवायु परिवर्तन र भौतिक पूर्वाधारको विकासमा भू-विज्ञानको प्रयोगका बारेमा विशद् विमर्श हुने विश्वास व्यक्त गरे । प्राकृतिक स्रोतको उत्खनन, सदुपयोग र बजार व्यवस्थापनका लागि लगानीकर्ताको ध्यान आकर्षण गर्न यो सम्मेलन उपयोगी हुनेछ भन्ने राष्ट्रपति पौडेलको अपेक्षा छ ।