काठमाडौं, फागुन २९ :

प्रतिनिधिसभाको आगामी चैत ७ गते बस्ने बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने भएको छ ।

सभामुख देवराज घिमिरेले बुधबारको संसद् बैठकमा  प्रधानमन्त्रीसँग हुने प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमबारे जानकारी गराएका हुन् । प्रतिनिधिसभा नियमावली २०७९ को परिच्छेद ९ बमोजिम ‘प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नउत्तर’ सम्बन्धी कार्यक्रम आगामी चैत ७ गतेको बैठकमा हुनेगरी निर्धारण गरिएको सभामुख घिमिरेले संसद्लाई जानकारी गराए ।

उनले भने,‘प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नउत्तर कार्यक्रमको लागि यसअघि नै समूह विभाजन भइसकेको र समूह नौमा रहेका सदस्यले यस महिनामा प्रश्न सोध्नका लागि नियमावली नियम ५८ बमोजिम अगामाी चैत ३ गते आइतबार दिनको २ बजेभित्र प्रतिनिधिसभाका सचिव समक्ष आफ्नो प्रश्न लिखित रूपमा दिइसक्नु हुन व्यहोरासभा समक्ष जानकारी गराउन चाहान्छु ।’  कार्यक्रममा सांसदहरूले पालैपालो समसामयिक विषयमा प्रधानमन्त्रीलाई प्रश्न सोध्नेछन् ।

प्रतिनिधि सभा नियमावली २०७५ मा सभामुखले प्रत्येक महिनाको पहिलो र तेस्रो हप्तामा बस्ने पहिलो बैठकको पहिलो एक घण्टा प्रधानमन्त्रीसँग प्रश्नोत्तर का लागि समय निर्धारण गर्न सक्ने व्यवस्था भए पनि कार्यान्वयन हुन भने सकेको छैन ।

गत माघ ४ माघ गते पहिलो पटक प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सञ्चालन भएको थियो । त्यस दिन प्रधानमन्त्रीले  कतिपय सांसदका प्रश्नमा मिलाएर जवाफ दिए पनि कतिपय सांसदहरुका प्रश्नको जवाफै दिएनन् । बरु प्रतिप्रश्न, काउन्टर जवाफ र आक्रोश प्रकट गरे ।

सांसद प्रभु साहले प्रधानमन्त्री ओलीलाई वैदेशिक रोजगारी, आर्थिक तथ्यांकदेखि भारत भ्रमणसम्मका विभिन्न ८ वटा प्रश्न सोधे । तर प्रधानमन्त्री उनका प्रश्नप्रति आक्रोशित हुँदै अत्यन्त तुच्छ एवं गैरजिम्मेवार जवाफ दिएको भन्दै त्यसको अहिले पनि राजनीतिक वृत्तमा चर्चा हुने गरेको छ ।