काठमाडौं, फागुन २९ :

सरकारले अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले फागुन २६ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरू सार्वजनिक गर्दै मिटरब्याज सम्बन्धी जाँचबुझ आयोग गठन गरेको जानकारी दिएका हुन् ।

सरकारले अनुचित लेनदेन (मिटरब्याज) अपराध नियन्त्रणका लागि सुझाव सहितको प्रतिवेदन पेस गर्न बाबुराम रेग्मीको अध्यक्षतामा तीन सदस्यीय जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको हो । आयोगका सदस्यमा भरतबहादुर बोहरा र बद्रीप्रसाद भट्टराई रहेका छन् ।

लामो समयदेखि आन्दोलन गर्दै आएका मिटरब्याज पीडितहरुले अधिकार सम्पन्न न्यायिक आयोग गठन गर्नुपर्ने माग गरेका थिए । आफूहरुको मागको बेवास्था गरेको भन्दै एकजना पीडितले केहीदिन अगाडि जिल्ला प्रशासन कार्यालय पर्सामा आत्मदाहको प्रयास समेत गरेका थिए । मिटरब्याजीका कारण कतिपयको त घरबास उठी बास हुँदा बिचल्लीमा परेका छन् ।