
पाकिस्तानी सेनाले बलुचिस्तानमा अपहरण गरिएको जाफर एक्सप्रेसका ३०० यात्रुलाई सुरक्षित उद्धार गरेको दाबी गरेको छ। सेनाका प्रवक्ताका अनुसार यात्रुहरूको उद्धारका लागि चलाइएको सैन्य कारबाहीमा ३३ जना विद्रोही मारिएका छन्।
पाकिस्तानी सेनाका अनुसार कारबाही अघि नै बलुच लिबरेशन आर्मी (बीएलए) ले २१ यात्रु र चार सैनिकको हत्या गरिसकेको थियो। यद्यपि, स्वतन्त्र रूपमा यसको पुष्टि हुन सकेको छैन।
मंगलबार दिउँसो क्वेटाबाट पेशावर जाँदै गरेको जाफर एक्सप्रेसलाई बीएलएका लडाकुहरूले कब्जा गरेका थिए। सेनाका प्रवक्ताका अनुसार ट्रेनमा करिब ४४० जना यात्रु सवार थिए। यस हमलाको जिम्मेवारी बीएलएले लिएको छ।
घटनाबाट बच्न सफल केही यात्रुले यस हमलाबारे त्रासदीपूर्ण अनुभव बाँडेका छन्। हमलाबाट बाँच्न सफल एक यात्रुले भने, ‘हामीले ज्यान बाँचाइदिन आग्रह गर्यौं, तर आक्रमणकारीहरूले पछाडि फर्कियौ भने गोली ठोकिन्छौं भन्ने धम्की दिए।’ यात्रुहरूका अनुसार आक्रमणकारीहरूले ट्रेन रोक्नासाथ भयानक रुपमा गोलीबारी सुरु गरेका थिए।