काठमाडौं, चैत ३ :

गत साता प्रदर्शनमा आएको नेपाली चलचित्र ‘होस्टेल ३’को गीत ‘रक अन’ युट्युबमा सार्वजनिक गरिएको छ ।

चलचित्रको अन्त्यमा राखिएको यो गीतको व्यापक माग भएपछि इन्टरनेटमा ल्याइएको निर्देशक सशान कँडेलले बताए ।

यस गीतमा ‘होस्टेल ३’ का प्रमुख कलाकारहरू पारस बम ‘कुलब्वाय’ र रिहान गिरीको साथमा समीर काजीको स्वर रहेको छ । महेश ज्ञवालीको शब्द तथा संगीत छ । एरेन्ज योगेश काजीले गरेका छन् ।

‘होस्टेल ३’ले पहिलो साता नेपालमा मात्र चार करोड ३२ लाख ग्रस कलेक्सन गरेको थियो । यो चलचित्र हाल नेपालबाहिर मध्यपूर्व, अस्ट्रेलियालगायत देशहरूमा समेत प्रदर्शन भइरहेको छ । नेपालीहरूको बसोबास रहने प्राय: सबै देशहरूमा रिलिज हुने निर्देशक कँडेलले बताए । इमिरेट्स, बहराइन, कतार तथा अस्ट्रेलियाबाट पनि यसको व्यापारको चर्चा आइरहेको छ ।

गत बिहीबार रिलिज भएयता ‘होस्टेल ३’ को व्यापारको रफ्तार गजबको देखिएको छ । दोस्रो साताको शनिबार पनि चलचित्रको व्यापारमा कुनै कमी नआएको निर्देशक कँडेलले बताए । ‘हामी निरन्तर हल भिजिटमा छौँ र वितरकबाट पनि व्यापार रिपोर्ट लिइरहेका छौँ । दोस्रो हप्तामा पनि व्यापारको उत्साह कायमै छ । दोस्रो शनिबार त झनै व्यापक माहोल देखियो,’ कँडेलले भने ।

यस चलचित्रमा पारस बम ‘कुलब्वाय’, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुलीलगायतको मुख्य भूमिका छ । प्रवीण खतिवडाले वार्डेनको भूमिका निभाएका छन् । आशिष पुरुष, रोहन श्रेष्ठ, उमर खान र सन्तोष बानियाँ पनि चलचित्रमा रहेका छन् ।

यस चलचित्रमा माधव शर्माको पटकथा तथा संवाद लेखन तथा एसोसिएट निर्देशन रहेको छ । चलचित्रका निर्माता सुरेश कँडेल, कर्ण कार्की र गोविन्द अधिकारी हुन् भने सह-निर्मातामा शिशिर ज्ञवाली, अनिश सिग्देल, कुन्दन गुप्ता र गणेश मगर रहेका छन् । शंकर कोइराला कार्यकारी निर्माता हुन् भने कोशिशराज क्षेत्री लाइन प्रोड्युसर हुन् ।