भादगाउँ, चैत ३ :

भक्तपुरको मध्यपुर थिमि- ४ स्थित मध्यपुर अस्पताल नजिक जस्ताको टहरामा भएको पाँचवटा पसलमा आज आगलागी हुँदा करिब १२ लाखको क्षति भएको छ । 

काभ्रेपलान्चोकको बेथानचोक गाउँपालिका- ४ घर भई हाल मध्यपुर थिमि बस्ने २३ वर्षीय सनिस श्रेष्ठले जग्गा भाडामा लिई सञ्चालन गरिरहेको दुनोट उद्योगमा लागेको आगो सँगै रहेका अन्य पसलमा पनि सल्केको थियो ।

सनिसको दुनोट उद्योगमा दिउँसो करिब पौने १ बजे करेन्ट सर्ट भई आगलागी भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ढुण्डिराज नेउपानेले बताए ।

दुनोट पसलबाट लागेको उक्त आगोले सँगै रहेको खाजा पसल, मोटरसाइकल वर्कशप, मसला पसल र तोफु पसलमा समेत क्षति गरेको प्रनाउ नेउपानेले जानकारी दिए ।

आगलागीबाट सनिसको दुनोट उद्योगभित्र रहेको करिब एक लाख ३८ हजार धनमाल जलेर नष्ट भएको उनले जानकारी दिए । उनका अनुसार आगलागीबाट सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–६ का २० वर्षीय समित बाँनियाले सञ्चालन गरेको खाजा पसलमा तीन लाखको क्षति भएको छ ।

यसैगरी, भक्तपुरको सूर्यविनायक नगरपलिका- ४ सिकारीटारका २४ वर्षीय सुमन श्रेष्ठले सञ्चालन गरेको मोटरसाइकल वर्कशपमा आठ हजार, सूर्यविनायक नगरपालिका- १ सिरुटारका ४५ वर्षीय यमविक्रम कार्कीले सञ्चालन गरेको मसला पसलमा तीन लाख १९ हजार तथा बाँकेको नेपालगञ्ज नगरपालिका- २ का ४५ वर्षीय राजेन्द्रकुमार श्रेष्ठले सञ्चालन गरेको तोफु पसलमा चार लाख चार हजार बराबरको धनमाल जलेर नष्ट भएको छ । 

आगलागी प्रहरी, स्थानीय बासिन्दा र जुद्ध वारुणयन्त्र कार्यालय भक्तपुरको दमकलको सहायताले नियन्त्रणमा आएको प्रहरी नायब उपरीक्षक नेउपानेले जानकारी दिनुभयो । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको उनले बताए ।