शनिबार, १७ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार बागमती प्रदेश भिडियो

प्रहरीले भन्यो- २५ करोड रुपैयाँसहित पक्राउ परेका लामा ७ किलो सुन तस्करीमा संलग्न व्यक्ति हुन्

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ५ चैत, २०८१ मा प्रकाशित
प्रहरीले भन्यो- २५ करोड रुपैयाँसहित पक्राउ परेका लामा ७ किलो सुन तस्करीमा संलग्न व्यक्ति हुन्
काठमाडौं, चैत ५ :

काठमाडौंको टोखाबाट २५  करोड भन्दा बढी रकमसहित पक्राउ परेका व्यक्ति यसअघि पनि सुन तस्करीमा मुछिएका व्यक्ति भएको खुलेको छ ।

सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका १, का ४३ वर्षीय फुच्चे भनिने कुसाङ लामालाई यसअघि ७ किलो सुनसहित पक्राउ परेर पाँच वर्ष जेल बसेर निस्किएका व्यक्ति भएको प्रहरीले मंगलबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

सजाय भुक्तान गरेर २०७८ सालमा निस्किएका उनलाई विदेशी विनियमय ऐन कसुरमा कारबाहीका लागि पठाइएको छ । प्रहरीले नियन्त्रणमा लिएको ना.७ख १६५२ नम्बरको ट्रक, बरामद रकम र लामालाई सार्वजनिक गरेको छ ।

पत्रकार सम्मेलनमा वरिष्ठ उपरीक्षक रमेशकुमार बस्नेतले भने, ‘हामीले त्यहाँ धेरै गाडीहरू सर्च गर्‍यौँ । यो ट्रकलाई पनि रोक्यौँ । सुरुमा चालक अलि डराएको जस्तो देखियो । उनले ट्रकमा के छ भन्नेबारे खुलाउन नचाहेपछि हामीले नियन्त्रणमा लिएर छानबिन सुरु गर्दा पैसा भएको पाइयो ।’

ट्रकबाट बरामद गरिएको अमेरिकी डलर र युरो रकम गरी आजको विनिमयदरअनुसार २५ करोड २८ लाख १२ हजार २२५ नेपाली रुपैयाँ रहेको जनाइएको छ ।

बिहान कुनै गाडीमा अवैध मुद्रा रसुवातर्फ लगिँदै छ भन्ने सूचना पाएपछि प्रहरीले सवारी जाँचमा कडाइ गरेको थियो । अवैध मुद्रा कारोबारमा संलग्न व्यक्तिहरूको नेटवर्क रहेको आशंकामा प्रहरीले अनुसन्धानलाई थप अगाडि बढाएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार