काठमाडौं, चैत ५ :

पोखरामा भ्रमण वर्ष २०२५ को उद्घाटन समारोहमा भएको बेलुन विस्फोटको विषयको अनुसन्धान गर्न गठिन छानबिन समितिले मंगलबार गृहमन्त्री रमेश लेखकलाई प्रतिवेदन बुझाएको छ ।

समितिले घटनाको विस्तृत छानबिन गरी आगामी दिनमा यसप्रकारका घटना दोहोरिन नदिन र सुधार गर्नुपर्ने विषयहरू समेत प्रतिवेदनमा उल्लेख गरिएको छ ।

प्रतिवेदन बुझ्दै गृहमन्त्री लेखकले प्रतिवेदनमा उल्लेख भएका विषय कार्यान्वयनका लागि गृहसचिव गोकर्णमणि दुवाडीलाई निर्देशन दिएका छन् ।

घटनाको छानबिन गर्न कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा आठ सदस्यीय छानबिन समिति गठन गरिएको थियो । पोखरा भ्रमण वर्ष उद्घाटनका क्रममा बेलुन विस्फोट हुँदा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आचार्य घाइते भएका थिए ।