काठमाडौं, चैत ६ :

नेपाली सेनाले संविधानले प्रदान गरेका जिम्मेवारीहरू पूरा गर्न कटिबद्ध रहेको स्पष्ट पारेको छ । जंग्गीअड्डाले बुधबार विज्ञप्ति निकालेर आफ्नो जिम्मेवारीप्रतिको प्रतिबद्धता जनाएको हो ।

केही दिनदेखि विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा नेपाली सेनालाई जोडेर विभिन्न खाले टीकाटिप्पणी हुन थालेपछि सेनाले यसबारेमा प्रस्ट पारेको हो ।

नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको लागि संविधानप्रदत्त जिम्मेवारीहरू पूरा गर्न नेपाली सेना सदैव कटिबद्ध रहेको जनाइएको छ ।

‘विगत केही दिनयता विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जाल मार्फत नेपाली सेनालाई जोडेर विभिन्न प्रकारका टीकाटिप्पणी, धारणा र विश्लेषणहरू सम्प्रेषण भएकोमा नेपाली सेनाले आफ्नो धारणा र गतिविधिहरू नियमित रूपमा पत्रकार सम्मेलन, प्रेस विज्ञप्ति, प्रेस नोट, आधिकारिक सामाजिक सञ्जाल र सैनिक कार्यक्रमहरू मार्फत सार्वजनिक गर्दै आएको छ,’ सेनाले विज्ञिप्तिमा भनेको छ ।

नेपाली सेना सम्बन्धी जानकारी लिनका लागि जनसम्पर्क तथा सूचना निर्देशनालयसँग सम्पर्क गरी यथार्थपरक सूचनाहरू सम्प्रेषण गर्न पनि सेनाद्वारा आग्रह गरिएको छ ।