
प्रधानमन्त्री केपी ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि निर्मित स्थानीय सरकारले वास्तवमै गाउँ-गाउँमा सिंहदरबार पुर्याएको बताएका छन् ।
नेपाल नगरपालिका संघको ३२औं वार्षिकोत्सवमा ओलीले नेपाली जनताको लामो सङ्घर्ष र बलिदान स्वरुप मुलुकमा राजतन्त्रको अन्त्यसँगै बलियो स्थानीय सरकार बनेकाले यसको विकल्प नभएको स्पष्ट गरे ।
‘संविधान कार्यान्वयनका क्रममा प्रदेशको संरचनाबारे केही बहस भएका छन् तर स्थानीय सरकारबारे कुनै प्रश्न उठेको छैन । त्यसकारण स्थानीय सरकारको कुनै विकल्प छै । जनतालाई सेवा दिने नजिकको सरकार यही हो,’ उनले भने, ‘स्थानीय तहका समस्या र मागलाई उचित नीति र कानुनको निर्माण गरेर क्रमशः समाधान गरिनेछ । यसमा तीनै तहका सरकारबीच आवश्यक सहकार्य र समन्वय हुनेछ ।’
प्रधानमन्त्री ओलीले राजतन्त्र फर्काउने नाममा भइरहेका गतिविधिप्रति लक्षित गर्दै राजतन्त्रकालमा लादिएका निरंकुशतालाई जनताले नबिर्सिएकाले गणतन्त्रको सुदृढीकरणमा सबै लाग्नुपर्नेमा जोड दिए ।