
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शिक्षा विभाग खारेज गर्न अधिकारीहरूलाई निर्देशन दिने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् ।
ट्रम्पले आफ्नो चुनावी अभियानको क्रममा शिक्षा विभाग खारेज गर्ने वाचा गरेका थिए ।
ट्रम्पले बिहीबार आदेशमा हस्ताक्षर गरेपछि यसले आफुहरुलाई कुनै फाइदा नगरेको भन्दै सकेसम्म चाँडो बन्द गर्ने बताएका छन् ।
ट्रम्पले लामो समयदेखि यो विभाग खारेज गर्न माग गर्दै आएपनि यसलाई पूर्ण रूपमा बन्द गर्न उनलाई अमेरिकी संसद कांग्रेसको अनुमोदन चाहिन्छ, जुन सम्भव छैन ।
संयुक्त राज्य अमेरिकाले अन्य कुनै पनि देशको तुलनामा शिक्षामा धेरै पैसा खर्च गरेको तर पनि विद्यार्थीहरूको सफलता अझै पनि धेरै कम रहेको ट्रम्पको भनाइ छ ।
शिक्षा विभागले विश्वविद्यालयका विद्यार्थीहरूको लागि संघीय विद्यार्थी ऋण व्यवस्थापन गर्ने र कम आय भएका र शारीरिक रूपमा अशक्त विद्यार्थीहरूलाई सहयोग प्रदान गर्दै आएको छ । -बीबीसी