खोटाङ, चैत ८ :

हलेसी तुवाचुङ नगरपालिका- ५ दुर्छिम गाउँमा बिहीबार दिउँसोदेखि लागेको डढेलो राति नियन्त्रणमा लिइएको छ । 

इलाका प्रहरी कार्यालय हलेसी, नगर प्रहरी र स्थानीयवासीको सहयोगमा डढेलो नियन्त्रणमा लिइएको हो ।

नगरपालिकाका प्रवक्ता कमल गिरीका अनुसार डढेलोका कारण चार घर र दुई मटान जलेर नष्ट भएका छन् । 

दुर्छिमको गणेशटारस्थित तेर्सालुङ सामुदायिक वनमा लागेको डढेलो गाउँ पस्दा चुमाखुका घनश्याम राई, दाप्सामाका पूर्णबहादुर राई र गणेशटारका जगबहादुर राई, रुङकाडोका रणबहादुर राईका घर जलेको जनाउँदै उहाँले चुमाखुका वीरगञ्ज राई र दिलकुमारी राईको मटान जलेर नष्ट भएको बताए । 

सुनकोशी किनारबाट सुरु भएको डढेलो तेर्सालुङ सामुदायिक वन हुँदै गाउँ पसेको थियो । गाउँको चारैतिरबाट फैलिएको डढेलो राति अबेर नियन्त्रणमा लिन सफल भएको उनले बताए ।

डढेलो पीडित परिवारलाई सुरक्षित स्थानमा सारिएको र आगलागीबाट भएको क्षतिको यकिन विवरण आउन बाँकी रहको उनले बताए । 

सुक्खाग्रस्त क्षेत्रमा पर्ने दुर्छिममा आगलागी भएको समयमा हुरीबतास चलिरहेकाले ठूलो क्षति भएको नगर प्रवक्ता गिरीले बताए । 

गाउँ पसेको डढेलो नियन्त्रणमा आए पनि सामुदायिक वनमा भने आगो नियन्त्रण बाहिर रहेको उनले जानकारी दिए ।