पुस २७ :

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीले संसद् भंग गरेर ०८७ सम्म सरकारमा बस्ने चाहना राखेको हुनसक्ने आशंका व्यक्त गरेका छन् ।

सिंहदरबारमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगको भेटपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो आशंका व्यक्त गरेका हुन् । उनले संविधान संशोधनबाट वर्तमान प्रधानमन्त्री पछि हट्नुभएको भन्ने कुरा सुनेको भन्दै जनताको सुविधाहरुमा बाधा बनेको ठाउँमा संविधान संशोधन गर्नुपर्ने धारणा राखे ।

प्रधानमन्त्री केपी ओलीले २०८७ मा संविधान संशोधन गर्ने भन्नुभएको छ नि ? भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा उनले ०८७ सम्म चुनाव नै नगरी बस्ने चाहना राखेको हुनसक्ने बताए । उनले संसद् भंग गरेर ठेलेको ठेल्यै गरी ०८७ सम्म सरकारमा बस्ने चाहना गरेको हुनसक्ने दाबी गरे ।

‘समाजवादी मोर्चालाई कसरी फेरि पुनःजागृत गर्ने, पुनः क्रियाशील बनाउने भन्ने विषयमा नै केन्द्रित थियो । यसका लागि हामीले माघ २ गते समाजवादी मोर्चामा भएका ४ घटकहरु, नेकपा (एकीकृत समाजवादी), माओवादी, विप्लवको पार्टी र महिन्द्र राय यादवजीको नेपाल समाजवादी पार्टीसँग सल्लाह गर्छौं । समाजवादी मोर्चालाई हामीले क्रियाशील बनाउँछौँ । संविधान संशोधनका विषयमा हाम्रो पार्टीले पनि कार्यदल बनाइसकेको छ । त्यसले छलफल गर्नेछ,’ नेपालले भने, ‘संविधान संशोधन गर्नुपर्ने कुरा त पक्कै केही न केही छ । स्थानीय निकाय, प्रदेश सभाको कुरा, प्रादेशिक संरचना, केन्द्रीय संरचनाका कुराहरु छन् । सत्ताधारीले के सोचिरहेका छन्, त्यसमा छलफल गरौंला । संविधान संशोधनको कुराबाट वर्तमान सरकारका प्रधानमन्त्री पछि हट्नुभयो भन्ने आइरहेको छ । कति साँचो हो होइन थाहा भएन । २०८७ सम्म बस्ने उहाँको चाहना होला । अब हेरौँ । ०८७ सम्म चुनाव नै नगरी बस्ने हो कि त्यसमा पनि मान्छेले प्रश्न खडा गर्दछन् । संसद् नै भंग गर्ने मान्छेले संसद् भंग गरेर ठेलेको ठेल्यै गरेर अर्को ६ वर्ष बसौँला भन्ने सोच्नुभएको छ कि थाहा भएन ।’

अध्यक्ष नेपालले अध्यक्ष दाहालसँगको बैठकमा भने समाजवादी मोर्चालाई पुनः सक्रिय बनाउनेबारे छलफल भएको जानकारी दिए ।