
काठमाडौं । संविधान संशोधनको कुरा चलिरहँदा राजनीतिक दलका नेताहरुको दौडधुप पनि ह्वात्तै बढेको छ । यो वा त्यो जुनसुकै बहानामा होस् नेताहरु फरक दलका नेताहरुसँग भेटघाट र छलफलमा व्यस्त रहेका छन् ।
आज मात्र शीर्ष दलका नेताहरुले भेटवार्ता गरेका छन् । यसैक्रममा राष्ट्रपति रामचन्द्र पौडैलसँग प्रधानमन्त्री केपी ओलीले शीतलनिवासमै पुगेर भेटेका छन् । राष्ट्रपति र प्रधानमन्त्रीबीच भएको भेटमा मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
उसो त राष्ट्रपति पौडेल सँगको भेटमा प्रधानमन्त्री ओली एक्लै थिएनन् । यो भेटमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, मुख्यसचिव एकनारायण अर्याल लगायतको सहभागिता थियो ।
उता सत्ताबाट बाहिरिएसँगै छटपटाइरहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आजै (शुक्रबार) नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र जनता समाजवादी पार्टी (जसपा) का राजेन्द्र श्रेष्ठसँग भेटवार्ता र छलफल गरेका छन् । छलफल सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा भएको थियो ।
विपक्षी दलहरुको मोर्चाबन्दी गरेका दाहालले लामो समयदेखि निष्क्रिय रहेको मोर्चालाई ब्युताउने भने पनि संविधान संशोधन र आगामी रणनीतिका विषयमा छलफल गरेको बुझिएको छ । यो छलफलमा विपक्षी दलहरु सम्मिलित समाजवादी मोर्चाको बैठक माघ २ गते बस्ने निर्णयसमेत भएको छ ।
भलै भोलि (शनिबार) राप्रपा नेपालले राष्ट्रिय एकता दिवसका अवसरमा गर्न लागेको कार्यक्रममा प्रमुख अतिथिका रुपमा आमन्त्रणकै बहाना किन नहोस् कमल थापा र प्रधानमन्त्री ओलीबीच पनि आजै भेट भएको छ । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री ओलीसँग राप्रपा नेपालका अध्यक्ष कमल थापाले भेट गर्नुलाई संविधान संशोधनका विषयमा केही खिचडी त पाकेको छैन ? भन्ने आकलन गर्न सकिन्छ ।
उता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भने पार्टी केन्द्रीय कार्यालयमा आयोजित वातावरण तथा जलवायु परिवर्तन सरोकार विभागको कार्यक्रमलाई सम्बोधन गर्नमै व्यस्त रहे । उनले जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि विद्युतीय सवारीसाधनको प्रयोग बढाउनुपर्ने जोड दिए ।
जे भए पनि दलहरुबीच संविधान संशोधनको बहस भने तीव्र भएको छ ।
देउवाले काठमाडौं उपत्यकामा मात्रै विद्युतीय सवारीसाधनको प्रयोग बढाउनसके पनि जलवायु परिवर्तनका असर न्यूनीकरणमा ठुलो मद्दत हुने बताए । उनले जलवायु परिवर्तनले समग्र राष्ट्रमा नै ठुलो असर गरिरहेको बताए ।
८४ दिन प्रहरी हिरासतमा बसेर हिजो (बिहीबार) मात्र छुटेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति आज (शुक्रबार) काठमाडौ जिल्ला अदालत उपस्थित हुने कार्यक्रम थियो । तर उनी हवाईमार्गबाट पोखराबाट काठमाडौं आउने भनिए पनि पार्टीका अन्य नेता तथा कार्यकर्ता पनि सँगै आउने भएपछि उनी पनि सडक मार्ग हुँदै आएका छन् । अब उनी आइतबार मात्र अदालतमा हाजिर हुनेछन् ।
पोखराको सूर्यदर्शन सहकारी ठगी अभियोगमा ८४ दिनसम्म कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका पूर्वगृहमन्त्रीसमेत रहेका लामिछाने ६५ लाख रुपैयाँ धरौटी बुझाएर बिहीबार बेलुका रिहा भएका हुन् । अब उनको काठमाडौं आगमनसँगै राजनीतिक भेटघाट बाक्लिने रास्वपाकै केही नेताहरुको दाबी छ ।
जे भए पनि दलहरुबीच संविधान संशोधनको बहस भने तीव्र भएको छ । यसलाई कसरी अगाडि बढाउन सकिन्छ वा आफ्ना एजेन्डा कसरी स्थापित गर्न सकिन्छ भन्ने मनशायले दलहरुको दौडधुप भएको हो ।