माघ ७ :

काठमाडौं । इजरायल र हमासबीचको पहिलो चरणको युद्धविराम लागु भएको छ । दुवै पक्षले आफ्ना नियन्त्रणमा रहेका बन्दीहरुलाई छाड्ने भन्दै नाम सार्वजनिकसमेत गरेको अवस्था छ ।

लामो समयदेखि प्रतीक्षा गरिएको गाजा-इजरायल युद्धविराम सम्झौतापछि विस्थापित प्यालेस्टिनीहरू आफ्नो घर फर्कन थालेका छन् । गाजा सहरका एक व्यक्तिले पत्रकारहरूलाई आफ्नो घर ध्वस्त भएको हुन सक्ने तर पनि उनी पाल टाँगेरै भए पनि आफ्नै सहर फर्कन चाहेको बताएका छन् ।

पहिलो तीन इजरायली महिला बन्धकहरू रिहा हुने अपेक्षा गरिएको छ । उनीहरू ३१ वर्षीय डोरोन स्टेनब्रेचर, २८ वर्षीया बेलायती-इजरायली एमिली डामारी र २४ वर्षीय रोमी गोनेन रहेको हमासले जनाएको छ ।

युद्धविरामपछि घर फर्कँदै विस्थापित प्यालेस्टिनी [तस्बिरहरू]

युद्धविराममा ढिलाइ भएको केही घण्टामै इजरायलले गाजामा आक्रमण जारी राख्दा थप १९ जनाको मृत्यु भएको हमासद्वारा सञ्चालित नागरिक सुरक्षा निकायले जनाएको छ । अझ युद्धविराम घोषणा गरिएको विगत चौबीस घण्टामा मात्रै ८१ जनाको मृत्यु भएको बीबीसीले समाचारमा उल्लेख गरेको छ ।

हमासले ७ अक्टोबर २०२३ मा इजरायलमाथि आक्रमण गर्दा करिब १२ सय जनाको मृत्यु भएको थियो । २५१ जनालाई बन्धक बनाएर गाजातर्फ लगेको थियो । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार आक्रमणका कारण गाजामा इजरायलले गरेको आक्रमणमा ४६ हजारभन्दा बढी प्यालेस्टिनी मारिएका छन् ।