
एमिली डामारीका कष्टकर ४७१ दिन
एमिली डामारीको हातमा गोली लागेको ४७१ दिन भइसकेको छ । २०२३ अक्टोबर ७ मा दक्षिणी इजरायलमा रहेको उनको घरबाट उनलाई गाजामा लगियो ।
बेलायती-इजरायली नागरिक एमिली छर्रा लागेर घाइते भएकी थिइन् । उनले ७ अक्टोबरमा आफ्नो कुकुर चुचालाई गोली हानेर मारेको समेत देखेकी थिइन् ।
करिब १५ महिना लामो समयपछि इजरायल र हमासबीच भएको युद्धविराम सम्झौताको पहिलो चरणका रुपमा रिहा गर्ने योजना बनाएको पहिलो बन्धकका रूपमा हमासले एमिलीको नाम लिएको छ ।
एमिलीलाई रिहा गर्न लागिएको पहिलो बन्धकमध्ये एक भएको दमारी परिवार नजिकको स्रोतले जनाएको बीबीसीले उल्लेख गरेको छ । यो ४७१ दिन ज्यादै कष्टकर थियो । तर त्योभन्दा पनि अबको चौबीस घण्टा झन् कष्टकर भएको उनको परिवारको भनाइ छ ।
एमिलीकी आमा म्यान्डीले एमिलीलाई अँगालो हाल्न चाहन्छिन् । तर जबसम्म उनले छोरीलाई प्रत्यक्ष देख्दिनन् तबसम्म विश्वास गर्न नसक्ने बताएकी छिन् । म्यान्डी दमारीका लागि पछिल्लो १५ महिना निकै कष्टकर रह्यो । म्यान्डी दमारीले मैनबत्ती बालिन् । मैनबत्तीको पछाडि छोरीको तस्बिर अनि छेउमा बेलायती झन्डा राखेकी थिइन् ।
विश्वभरि विशेषगरी बेलायती घरहरूमा एमिली र अन्य बन्धकहरूको तस्बिरका साथ मैनबत्तीहरू प्रज्ज्वलित गरिएको छ । साथै रिहाइका लागि प्रार्थना गरिएको छ ।
एमिली डामारी
सन् २०२३ को नोभेम्बरमा रिहा भएका अन्य बन्धकहरूले २८ वर्षीया एमिलीलाई कैदमा भेटेको बताएका थिए । उनी गोलीको चोटबाहेक ठीक रहेको देखेको बताएका थिए । उनी समझदार देखिन्थिन् र उनी एमिली नै थिइन् उनीहरुले बताएका थिए ।
बेलायती सरकार र अन्तर्राष्ट्रिय समुदायले आफ्नी छोरीलाई छिटोभन्दा छिटो रिहा गर्न, उनलाई कुनै मानवीय सहायता प्राप्त गर्न वा आफ्नी छोरी अझै जीवित छ कि छैन भनेर पत्ता लगाउन नसक्नुले उनी निराश पनि भइन् ।
७ अक्टोबर २०२३ को बिहान हमासले आक्रमण गर्दा आमा र छोरी दुवै किबुट्ज कफर अजामा आफ्नो घरमा थिए।
म्यान्डी सुरक्षित कोठामा लुकिन् र गोली ढोकाको ह्यान्डलमा लागेकाले बच्न सफल भइन् ।
आक्रमणकारीहरूलाई ढोका खोल्ने प्रयास गरे पनि खोल्न सकेनन् । तर म्यन्डीकी छोरी एमिली भने आक्रमणकारीको कब्जामा परिन् र उनलाई घिसार्दै गाजा लगिएको थियो ।
एमिलीको बेलायतसँग बलियो सम्बन्ध छ । उनी टोटेनह्याम हट्सपरको प्रशंसक हुन् र प्रायः आफ्ना नातेदारहरूलाई भेट्न, कन्सर्टमा भाग लिन र किनमेल गर्न बेलायत भ्रमण गर्ने गर्थिन् ।
नेपालका विपिन जोशी पहिलो चरणमा नछुट्ने
त्यसैले पनि स्पर्सका म्याचहरूमा प्रशंसकहरूले पहेँलो बेलुनहरू छोडेका छन् र उनको रिहाइका लागि नारा लगाएका छन् ।
एमिली आफू बन्धक अवस्थामा रहँदा हजुरबुबालाई गुमाएकी छिन् । रिहाइपछि मात्रै एमिलीले थाहा पाउनेछिन् कि उनका बेलायती हजुरबुबालाई गुमाएकी छन् । उनी हजुरबुबालाई नियमित रूपमा भेट्न बेलायत जान्थिन् ।
अब दमारी परिवारलाई आशा छ कि उनीहरूको जलेको हृदय अब निको हुनेछ ।
कन्सर्ट हेर्न जाँदा बन्धक
हमासले बन्धक बनाएको ४७१ दिनपछि रिहा हुने तीनजना इजरायली महिलामध्ये एक हुन् रोमी गोनेन । सन् २०२३ को अक्टोबर ७ मा भएको आक्रमणका क्रममा नोभा फेस्टिभलबाट भाग्न खोज्दै थिइन् तर २४ वर्षीया रोमी गोनेनलाई लडाकु समूहले पक्राउ गर्यो । उनलाई ३१ वर्षीया पशु चिकित्सक डोरोन स्टेनब्रेचर र २८ वर्षीया एमिली डामारीसँगै रिहा गरिने अपेक्षा गरिएको छ ।
इजरायल र हमासबीचको सम्झौताको पहिलो चरणको एक हिस्साका रूपमा उनीहरूको रिहाइ हुने भएको हो । इजरायलले तीनजनाको नाम प्राप्त गर्न ढिलाइ गरेको जनाएको थियो जसलाई हमासले प्राविधिक कारण भनेको थियो ।
जसले गर्दा युद्धविराम लगभग तीन घण्टा विलम्ब हुन पुग्यो । रोमी इजरायलको उत्तरमा पर्ने कफर भेराडिमस्थित आफ्नो घरबाट नोभा पर्वमा गएकी थिइन् । उनको परिवारको प्रतिनिधित्व गर्ने द होस्टेज एन्ड मिसिङ फेमिलिज फोरमका अनुसार नाच्न मनपराउने रोमी कन्सर्ट हेर्न गएकी थिइन् ।
रोमी गोनेन
जब हमासको आक्रमण सुरु भयो अनि साइरन बज्यो रोमीले आफ्नो परिवारलाई फोन गरिन् । उनकी आमा मिरवले आफ्नी छोरीसँग अन्तिम कलमा गोली चलेको र अरबी भाषामा चिच्याएको कुरा सुनेकी थिइन् ।
उनी भाग्न खोज्दा हमासले उनीमाथि आक्रमण गरेको थियो । उनको परिवारले गत नोभेम्बरमा पोस्ट गरेको एक भिडियोमा उनलाई ‘सबैभन्दा ठुलो मुस्कान, सबैभन्दा चम्किलो प्रकाश, सबैभन्दा ठुलो साथी’ का रूपमा वर्णन गरेको छ ।
अपार्टमेन्टबाटै अपहरण
डोरोन स्टेनब्रेचर
हमासले आक्रमण गर्दा ३१ वर्षीया पशु चिकित्सक डोरोन स्टेनब्रेचरलाई किब्बुत्ज कफर अजास्थित उनको अपार्टमेन्टबाट अपहरण गरिएको थियो ।
स्कुलमा थिएटर र फिल्मको अध्ययन गरेकी डोरोनले जनावरहरूका लागि प्रेम विकसित गरिन् । जसले गर्दा उनी पशु चिकित्सा नर्स बनिन् ।
नोभेम्बर २०२३ मा बीबीसीसँग कुरा गर्दै डोरोनकी बहिनी यामितले ट्याटुको कुरा गरेकी थिइन् । जहाँ लेखिएको थियो सूर्यका रूपमा हामी फेरि उदाउनेछौं । तर सूर्यका केही किरणहरू छुटेका छन् भन्दै अपहरणमा परेकी दिदी डोरोनलाई सम्झेकी थिइन् ।