जेठ ६ :

काठमाडौं । अब छपाइ हुने नयाँ नेपाली नोटहरूमा नेपाल राष्ट्र बैंकका नयाँ गभर्नर प्रा.डा. विश्वनाथ पौडेलको हस्ताक्षर हुनेछ । गभर्नरमा नियुक्त भएपछि उनीबाट हस्ताक्षर गरिएका नोटहरू छपाइको प्रक्रियामा जानेछन् ।

१८औं गभर्नरका रूपमा नियुक्त भएका पौडेलले नोटमा हस्ताक्षर गर्दा आफ्नो पुरा नाम ‘विश्वनाथ पौडेल’ अन्डरलाइनसहित लेख्ने र दुईवटा थोप्ला प्रयोग गर्ने निर्णय गरेका छन् । तर, उनी हस्ताक्षरमा ‘डिको’ प्रयोग नगर्ने भएका छन् ।

यसअघि राष्ट्र बैंकका पूर्वगभर्नरहरूले आ-आफ्नो शैलीमा हस्ताक्षर गर्दै आए पनि पौडेलको हस्ताक्षरले केही भिन्न शैलीको संकेत दिएको छ । उनको हस्ताक्षरसहितका नयाँ नोटहरू केही समयभित्र बजारमा देखिन थाल्नेछन् ।

महाप्रसाद अधिकारीको कार्यकाल चैत २४ गते सकिएसँगै राष्ट्र बैंक गभर्नरविहीन अवस्थामा थियो । दलहरुबीच डेढ महिनाको रस्साकस्सीपछि नेपाली कांग्रेस र नेकपा एमालेबीचको सहमति अनुसार अन्ततः गभर्नर नियुक्तिमा टुंगो लागेको हो ।