
ललितपुर । पतञ्जलि योगपीठको नाममा सरकारी जग्गा साटासाट गरी राज्यलाई ठुलो आर्थिक हानि पुर्याएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
नेपाल प्रधानमन्त्री हुँदा त्यस जग्गा साटासाट प्रक्रिया अघि बढेको थियो । अख्तियारका अनुसार हदबन्दीभन्दा बढी जग्गा खरिदबिक्री गर्न दिई सार्वजनिक सम्पत्ति हिनामिना गरिएको छ । यसबाट सरकारलाई करोडौँको नोक्सानी पुगेको दाबी गरिएको छ ।
उच्चपदस्थदेखि कर्मचारीसम्मको संलग्नता
मुद्दामा तत्कालीन कानुनमन्त्री प्रेमबहादुर सिंह, मन्त्री डम्बरबहादुर श्रेष्ठ (जसका छोरा सन्तोष श्रेष्ठमाथि मुद्दा दायर), मुख्यसचिव माधवप्रसाद घिमिरे (जसको हकमा श्रीमती कमला घिमिरेमाथि), भूमिसुधार सचिव छविराज पन्त, सहसचिवहरु जितबहादुर थापा र लालमणि जोशीको नाम समेटिएको छ ।
त्यस्तै कानुन उपसचिव कलानिधि पौडेल, गान्धीप्रसाद सुवेदी, भूपेन्द्रमणि केसी, मालपोत महाशाखाका तत्कालीन महानिर्देशक केशरबहादुर बानियाँ, उपसचिव राजाराम थापा, शाखा अधिकृत सीताराम पोखरेल, नायब सुब्बा बुद्धिबहादुर कार्की, मालपोत अधिकृत प्रेमबहादुर देशार, जनार्दन गुरागाईं, शिवहरि शर्मा सुवेदी, खरिदार मोहनराम शर्मा, विनोद कोइरालालगायत पनि अभियुक्त छन् ।
गुठी संस्थान र बैंक कर्मचारी पनि आरोपित
गुठी संस्थान काभ्रेका तत्कालीन प्रमुख कृष्णहरि भट्टराई, पवन आचार्य, माधवप्रसाद होमागाईंमाथि पनि मुद्दा दायर गरिएको छ ।
त्यस्तै सनराइज बैंकका उपप्रबन्धक मनोज न्यौपाने, प्रमुख व्यवस्थापक रविनकुमार नेपाल, सहायक महाप्रबन्धक आशा राणा, जोखिम व्यवस्थापन प्रमुख सञ्जयकुमार सिद्धि, अनुपालन विभाग प्रमुख सुनीलरत्न स्थापित, नायब महाप्रबन्धक बलराम विष्ट र अन्य बैंक कर्मचारीमाथि पनि कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।
पतञ्जलिका पदाधिकारी पनि मुद्दामा
नेपालमा पतञ्जलि योगपिठ तथा आयुर्वेद कम्पनीसँग जोडिएका शालिग्राम सिंह, भोजराज शर्मा वाग्ले, जीवनराज कँडेल, ध्रुवराज थापा, मनु घिमिरे, ओमप्रकाश वंश, भीमदत्त जोशी, वीरेन्द्रलाल श्रेष्ठ र लक्ष्मण कार्कीविरुद्ध पनि भ्रष्टाचारको मुद्दा चलाइएको छ ।
पूर्वप्रधानमन्त्री नेपालको हकमा १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो र सोहीबराबरको जरिवाना तथा सजाय माग दाबी गरिएको छ । अन्य अभियुक्तहरुको हकमा बिगो रकम फरक-फरक रहेको अख्तियारले जनाएको छ ।
यो पनि…
पतञ्जली जग्गा हिनामिना प्रकरण : पूर्वप्रधानमन्त्री नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर
भ्रष्टाचार मुद्दा दायरसँगै माधव नेपालको सांसद पद निलम्बन