
काठमाडौं । प्रतिनिधिसभाका २७५ सांसदमध्ये ४ जना निलम्बनमा परेका छन् । एक सांसद भने फरार छन् ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध बिहीबार भ्रष्टाचार मुद्दा दायर भएसँगै उनको सांसद पद निलम्बनमा परेको छ ।
पतञ्जलिको जग्गा सट्टापट्टा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै उनको सांसद पद् स्वतः निलम्बनमा परेको हो ।
योसँगै २०७९ मंसिर ४ गते सम्पन्न चुनावबाट निर्वाचित भएका प्रतिनिधिसभा सदस्यमध्ये ४ सांसद निलम्बनको अवस्थामा छन् भने अर्का एक सांसद फरार छन् ।
टेरामक्स प्रकरणमा संलग्न रहेको आरोपमा अख्तियारले मुद्दा दर्ता गरेसँगै नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेत २०८१ जेठ १ गतेदेखि निलम्बनमा छन् ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति समेत रहेका सांसद रवि लामिछाने सम्पत्ति शुद्धीकरणको मुद्दा दर्तासँगै २०८१ पुस ८ गतेबाट निलम्बनमा छन् । नेकपा एमालेका सांसद टोपबहादुर रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएसँगै सांसद पदबाट निलम्बनमा छन् ।
यता नवलपुरको कावासोतीस्थित छिपछिपे उपभोक्ता सहकारी संस्थाको साढे १६ करोड बचत रकम हिनामिनाको आरोप लागेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद गीता बस्नेत भने एक वर्षदेखि फरार छिन् । उनीविरुद्ध २०८१ वैशाख १४ गते पक्राउ पुर्जी जारी भएको थियो । त्यसयता उनी फरार छिन् ।