
काठमाडौं । भ्रष्टाचार मुद्दा दायर भएको थाहा पाउनेबित्तिकै पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल गृहजिल्ला रौतहटबाट काठमाडौं फर्किएर वकिलसँग छलफल गरेका छन् । राजधानी आइपुग्नेबित्तिकै केहीबेर निवासमा बसेका नेपाल पार्टी कार्यालय आलोकनगर पुगे ।
त्यहाँ पुगेपछि उनले वरिष्ठ अधिवक्ताद्वय शम्भु थापा र गोविन्द बन्दीलाई बोलाएर कानुनी परामर्श गरेका थिए । पार्टी स्रोतका अनुसार, अध्यक्ष नेपालले आफूविरुद्ध दायर भएको मुद्दामा अब कानुनी रूपमा कसरी अगाडि बढ्ने भन्नेबारेमा विस्तृत छलफल गरेका थिए ।
छलफलमा अबको कानुनी रणनीति, अदालतमा प्रस्तुत हुने प्रक्रिया र सम्भावित मुद्दाको बहसका विषयमा केन्द्रित कुराकानी भएको जनाइएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार नेपालसहित ९३ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेपछि राजनीतिक क्षेत्र तातेको छ । मुद्दा दायर हुँदा नेपाल आफ्नो गृह जिल्ला रौतहटमा थिए ।
नेता तथा कार्यकर्ताहरुसँगको भेटमा नेपालले आफूले कुनै गलत काम नगरेको दाबी गर्दै यो मुद्दा पूर्वाग्रही ढंगले ल्याइएको बताएका छन् । ‘अब कानुनको बाटोबाटै प्रतिवाद गर्छु,’ उनले पार्टीका नेता-कार्यकर्तालाई भनेका छन् ।