
संविधानसभा परिषद्ले व्यवस्थामाथि प्रश्न उठाउँदै भइरहेका प्रदर्शनप्रति आपत्ति जनाएको छ । परिषद्ले आज(सोमबार) विज्ञप्ति जारी गर्दै संविधानविरुद्ध हुने कुनै पनि गतिविधि सह्य नहुने बताएको छ ।
परिषद्का अध्यक्ष संविधानसभा सदस्य अनन्त पौडेलले नेपाली जनताको संघर्ष र बलिदानबाट बनेको संविधानसभाबाट निर्मित यस संविधानलाई संवर्द्धन, प्रवर्द्धन र संरक्षणका लागि सबै राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी एकजुट हुनु आवश्यक रहेको बताए ।
संविधानबाट प्राप्त उपलब्धिका आधारमा थप उपलब्धि हासिल गर्न सकिने तर यसविरुद्ध हुने कुनै गतिविधि सह्य नहुने जारी विज्ञप्तिमा उल्लेख छ । संविधानसभाबाट निर्मित संघीय लोकतान्त्रिक गणतान्त्रात्मक शासन व्यवस्था, धर्म निरपेक्षता, समावेशी, समानुपातिक, मुल्य, मान्यतासहितको प्रमुख विशेषता भएको उल्लेख गर्दै परिषद्ले नेपालको संविधान नेपाली जनताको त्याग र बलिदानको परिणाम भएको जनाएको छ ।
संविधानले नागरिक तथा राजनीतिक अधिकारका अतिरिक्त आर्थिक, सामाजिक, सांस्कृतिक र सामुदायिक अधिकारलाई पनि मौलिक हकको रुपमा प्रत्याभूत गरेको परिषद्को भनाइ छ ।
संविधानले राज्यका सबै अंग र निकायहरूमा समानुपातिक, समावेशी सहभागिता र सीमान्तकृत वर्गको प्रतिनिधित्वलाई सुनिश्चित गरेको पनि परिषद्ले स्मरण गराएको छ ।
भ्रष्टाचार नियन्त्रण, कानुनी शासन र सुशासनको प्रत्याभूति गर्दै नेपाली जनतालाई आश्वस्त र विश्वस्त बनाउने कार्यमा दलहरुलाई पनि जिम्मेवार बन्न आग्रह गरिएको छ।