संक्रमणकालीन न्यायको प्रक्रिया अघि बढाउन पुनः सर्च कमिटी गठन गर्न प्रमुख तीन दलका शीर्ष नेता सहमत भएका छन् ।
शीर्ष नेताबीच सोमबार सिंहदरबारमा भएको छलफलमा संक्रमणकालीन न्यायसम्बन्धी विवाद हेर्ने दुई आयोगमा पदाधिकारी सिफारिस गर्ने समिति गठनको प्रक्रिया अघि बढाउन सहमत भएका हुन् ।
बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन तथा सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ को दफा ३ को उपदफा ३ बमोजिम दुवै आयोगको अध्यक्ष तथा सदस्य नियुक्तिका लागि सिफारिस समिति र सर्च कमिटी गठन प्रक्रिया अघि बढाउने निर्णय भएको बैठकपछि प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेलले बताए ।
यसअघि पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नेतृत्वमा समिति गठित गरिएको थियो । त्यस समितिले कुनै पनि पदाधिकारीहरूको नाम सिफारिस गर्न सकेको थिएन । दुई महिना लामो दौडधुपपछि पनि नाम दिन नसकेपछि यी दुई आयोग गठन प्रक्रिया रोकिएको थियो ।
बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल माओवादी अध्यक्ष पुष्पकमल दाहाल सहभागी थिए ।
त्यस्तै बैठकमा गृहमन्त्री रमेश लेखक, प्रधानमन्त्री ओलीका विज्ञ सल्लाहकार अग्नि खरेल, माओवादी उपमहासचिव शक्ति बस्नेत र विज्ञ खिमलाल देवकोटा पनि उपस्थित थिए । शान्ति प्रक्रियाका बाँकी काम टुंगोमा पुर्याउन कांग्रेस, एमाले, माओवादीबीच बैठक भएको हो ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
सञ्चार गृहमै प्रवेश गरी पत्रकारहरूमाथि धरपकड गर्नेलाई कारबाही हुन्छ : सभापति लामिछाने
सञ्चारकर्मीमाथि भएको व्यवहारको छानबिन गरी दोषीमाथि कारबाही गर्न रास्वपाको निर्देशन
रास्वपा महामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल चीन भ्रमणमा जाने