
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्माण उद्योगलाई समृद्ध बनाउन निर्माण व्यवसायी ऐन कार्यान्वयन गर्न आवश्यक रहेको बताएका छन्। पार्टी केन्द्रिय कार्यालय सानेपामा सोमबार पार्टी निकट निर्माण व्यवसायीहरुको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले विश्व अर्थतन्त्र नै जोखिममा रहेको वर्तमान अवस्थामा मुलुकको कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा बढी योगदान दिइ २५ लाख भन्दा बढीलाई प्रत्यक्ष-अप्रत्यक्ष रुपमा रोजगारी दिने निर्माण उद्योगलाई समृद्ध बनाउन जरुरी रहेको बताए ।
निर्माण उद्योगलाई समृद्ध बनाउन निर्माण व्यवसायी ऐन कार्यान्वयन गर्न आवश्यक रहेको र निर्माण व्यवसायी ऐन, कानून तथा नियमावली तर्जुमाका लागि आफ्नो तर्फबाट सक्दो पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।
देउवाले निर्माण व्यवसायीहरुले झेलिरहेका भुक्तानि, निर्माण सामग्रीहरुमा भइरहेको मूल्यवृद्धि, व्यवसायका लागि उपयुक्त वातावरणको अभाव लगायतका विषयमा आफ्नो ध्यानाकर्षण भएको र समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाए ।
व्यवसायिक प्रवर्द्धनका लागि निर्माण व्यवसायीहरु प्रविधिमैत्री हुनु आजको आवश्यकता भएको उल्लेख गर्दै उनले योजनाहरु तोकिएकै समयमा निर्धारित लागतमै सम्पन्न नहुनु आजको मुख्य समस्या रहेको बताए । उनले निर्माण व्यवसायी ऐन, कानुन तथा नियमावली तर्जुमाका लागि आफ्नो तर्फबाट सक्दो पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
सभापति देउवाले निर्माण व्यवसायीहरु विकासको संवाहक भएको जनाउँदै अर्थतन्त्र गतिशिल बनाउन आ–आफ्नो तर्फबाट भुमिका खेल्नुपर्ने बताए ।
यस्तै निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण व्यवसाय सकसमा परेको बताए । उनले समस्या समाधानका लागि नियमावली संशोधनका लागि सरकारलाई सुझाव दिएको तर त्यसको कुनै सुनुवाई नभएको पनि बताए ।
अध्यक्ष सिंहले अर्थतन्त्रलाई चलायमान बनाउने निर्माण व्यवसायी देशको समृद्धिको संवाहक भएको बताए । उनले केही उद्योगहरुले गरेको कार्टेलिङलाई सरकारले प्रोत्साहन गरेको आरोपसमेत लगाए ।