
नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान अञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित नेपाली चलचित्र ‘अञ्जिला’ विभिन्न १६ देशहरूमा एकसाथ रिलिज हुने भएको छ ।
यो चलचित्र अमेरिका, क्रोएसिया, कतार, बहराइन, माल्टा, डेनमार्क, पोर्चुगल, हङकङ, दक्षिण कोरिया, फिनल्यान्ड, क्यानडा, दुबई, सिंगापुर, जापान, बेल्जियम र स्विडेनमा एकसाथ रिलिज हुनेछ । अस्ट्रेलियामा रिलिजको टुङ्गो लगभग अन्तिम चरणमा रहेको निर्माता प्रेमकुमार श्रेष्ठले बताए । साथै, बेलायतमा यस चलचित्रको उच्च माग रहेको र क्रमशः सबै सहरमा रिलिज गरिने उनले बताए ।
यस वर्षको फागु पूर्णिमाको दिन फागुन २९ गते नेपालमा प्रदर्शन भएको यस चलचित्रले नेपालमा हिट भएपश्चात् नेपालीहरूको बाहुल्य रहेका विभिन्न मुलुकहरूमा रिलिज हुन लागेको हो । ‘अञ्जिला’ ले समीक्षक तथा दर्शकबाट सकारात्मक प्रतिक्रिया पाउनुका साथै उल्लेखनीय व्यापार गरेपछि विदेशबाट माग भएको थियो । विदेश रिलिज मार्च २९ बाट हुने जनाइएको छ ।
अमेरिकामा सेभेन सिज इन्टरनेसनलका प्याट्रिक सुवेदीले रिलिज गर्नेछन् । क्यानडामा आगन इभेन्ट्स तथा आई र यू इन्टरटेनमेन्टले रिलिज गर्दै छन् । त्यस्तै, जापानमा यूएनए इन्टरटेनमेन्ट, फिनल्यान्डमा मामा इभेन्ट, मध्यपूर्वका देशमा साथीभाइ इन्टरटेनमेन्ट, माल्टामा मगवर्ट प्रोडक्सनले रिलिज गर्दै छन् ।
‘अञ्जिला’ का निर्देशक मिलन चाम्सले दिनानुदिन शो संख्यासँगै दर्शक पनि बढिरहेको बताए । ‘यो माया र विश्वासले ऊर्जा थपेको छ । फिल्म हेर्ने ८३ वर्षसम्मको आमा देखेको छु । उहाँहरू फिल्म हेरेर निस्किँदा खुसी भएको देख्दा सन्तुष्टि मिलेको छ,’ उनले भने, ‘दर्शक हलसम्म ल्याएर खुसी बनाएर फिर्ता पठाउन पाउँदाको क्षणलाई शब्दमा व्यक्त गर्न सक्दिनँ ।’
‘अञ्जिला’ लाई लिएर दर्शक तथा समीक्षकहरूले चलचित्रको कथा, प्रस्तुति, अभिनय र निर्देशनलाई निकै सराहना गरिरहेका छन् । चलचित्र ‘अञ्जिला’ले कठिन पारिवारिक परिवेशबाट व्यावसायिक फुटबल खेलाडी बन्ने सपना बोकेर राजधानी छिरेकी एन्जिला तुम्बापो सुब्बाको प्रेरणादायी जीवनयात्रालाई जीवन्त रूपमा प्रस्तुत गरेको छ ।
यसमा एन्जिलाले राजधानी आउनुअघि र आएपछिको कठोर संघर्षलाई मार्मिक ढंगले चित्रण गरिएको छ ।
मिलन चाम्सको निर्देशमा बनेको यो चलचित्रलाई प्रेमकुमार श्रेष्ठले निर्माण गरेका छन् । यस चलचित्रमा कलाकारसमेत रहेका श्रेष्ठ एन्जिलाका ‘गड फादर’ हुन् । शीर्ष भूमिकामा एन्जिला आफैंले अभिनय गरेकी छिन् ।
चलचित्रमा माओत्से गुरुङ र दयाहाङ राईले एन्जिलाका बुबाको भूमिका निर्वाह गरेका छन् भने सिर्जना सुब्बाले आमाको भूमिका निभाएकी छन् । सुमिन गुरुङले दाजुको भूमिका, सुनील थापाले कोचको भूमिका निभाएका छन् ।
साथै, यसमा बुद्धि तामाङ, विजय बराल, मञ्जु श्रेष्ठलगायत कलाकारको पनि अभिनय छ ।