काठमाडौँ, भदौ १० :

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले बालबालिकाहरूको समग्र विकास र संरक्षणमा सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । 

नवलपरासी (बर्दघाट सुस्तापूर्व) को देवचुलीमा आज आयोजित ‘बालिका अधिकार संरक्षणमा सरोकारवालाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा मन्त्री भट्टराईले अधिकार स्थापित गर्न गुणस्तरीय शिक्षा आवश्यक पर्ने भएकाले राज्यका तर्फबाट निःशुल्क शिक्षाको पूर्ण कार्यान्वयनका लागि गृहकार्य सुरु गरिएको बताउनुभयो ।

विद्यालयमा खुवाउने गरेको दिवा खाजाको गुणस्तरीयता र पोषणका लागि स्थानीय सरकार, विद्यालय र समुदायसँग मिलेर काम गरिने उहाँले जानकारी दिनुभयो ।

परम्परागत र स्थानीय खाद्य सामग्रीको प्रयोग गरी दिवा खाजालाई व्यवस्थित, गुणस्तरीय बनाउँदा त्यसले स्थानीयस्तरको समग्र कृषि प्रणालीलाई सहयोग पुग्ने बताउनुभयो ।

प्याड अभावका कारण विद्यालय शिक्षाबाट वञ्चित हुनबाट रोक्न  सरकारले काम गर्ने मन्त्री भट्टराईको भनाई छ ।