काठमाडौं,साउन १३: पेरिस ओलम्पिक २०२४ अन्तर्गत नेपालका ब्याडमिन्टन स्टार प्रिन्स दाहाल समूहको पहिलो खेलमा सोझो सेटमा पराजित भएका छन् । समूह ‘पी’ मा रहेका प्रिन्स विश्व वरियतामा दोस्रो नम्बरमा रहेका डेनमार्कका भिक्टर एक्सेलसन विरुद्ध सोझो सेटमै पराजित भएका हुन् ।
प्रिन्सका लागि भिक्टर निकै उत्कृष्ट सावित भए । प्रिन्स ८-२१ र ६-२१ स्कोर सहित सोझो सेटमै पराजित भएका हुन् ।यसअघि भएको खेलमा नेपालका टेबल टेनिस स्टार स्यान्टु श्रेष्ठ सोझो सेटमै पराजित हुँदै बाहिरिसकेका छन् । प्रिन्सले भने अझै दुई खेल खेल्न बाँकी रहेको छ । ब्याडमिन्टनको जुनियर विश्व वरीयताका पूर्व नम्बर एक भइसकेका प्रिन्स आयरल्यान्डका नियात नुयन (४३औं वरीयता) र इजरायलका मिसा जिल्वरमन (५९औं वरीयता) विरुद्ध खेल्नेछन् । प्रिन्स विश्व वरीयतामा १ सय ७२औं स्थानमा रहेका छन् ।१९ वर्षीय प्रिन्स ब्याडमिन्टनबाट ओलम्पिक खेल्ने पहिलो नेपाली खेलाडी समेत भएका छन् । प्रिन्सले युनिभार्सलिटी कोटाबाट ओलम्पिकका लागि छनोट भएका हुन् । कुल ६ खेलका ७ खेलाडीसहित २७ जना नेपालको ओलम्पिक टोलीमा रहेको बताइएको छ । १६ दिन सम्म चल्ने ओलम्पिकमा नेपालका स्यान्टु र प्रिन्स सहित जुडोकी मनिता श्रेष्ठ प्रधान, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, पौडीका एलेक्स शाह र डुवाना लामा तथा सुटिङकी सुस्मिता नेपाल सहभागी छन् ।