
प्रतिनिधिसभाको बैठक शुक्रबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको छ । आज (बिहीबार) बिहान ११ बजेका लागि तय भएको बैठक अपराह्न २ बजे बस्ने गरी सारिएको थियो ।
सभामुख देवराज घिमिरेले बैठक सञ्चालनका विषयमा प्रमुख राजनीतिक दलका सचेतकसँग छलफल गरे पनि निष्कर्ष ननिस्केपछि बैठक सूचना टाँस गरेर शुक्रबार बिहान ११ बजेसम्मका लागि स्थगन गरिएको हो ।
सङ्घीय संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेले विशेष कारणले निर्धारित समयमा बैठक बस्न नसक्ने भएकाले सभामुखले समय परिवर्तन गरेको जानकारी दिए ।
नेकपा माओवादी केन्द्र , राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादीलगायत विपक्षी दलले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएको विषयमा प्रधानमन्त्रीले सदनमा आएर जवाफ दिनुपर्ने माग राखेका छन् । उता प्रधानमन्त्री केपी ओलीले यो विषयमा आफूले कसैगरी पनि सदनमा जानकारी नगराउने र सरकारले नियमित कार्य सञ्चालन गरिरहने अडान दोहर्याएका छन् ।
यसैगरी राष्ट्रियसभाको बैठक पनि शुक्रबार बस्ने भएको छ । विपक्षी दलका सांसदहरुले अवरोध गरेपछि सभा अध्यक्ष नारायणप्रसाद दाहालले बैठक भोलिसम्मका लागि स्थगित गरेका हुन् ।