काठमाडौं, चैत १७ :

प्रतिपक्षी दलको अवरोधका कारण प्रतिनिधिसभाको बैठक आज पनि चल्न सकेन । बिहान ११ बजेका लागि डाकिएको बैठकमा प्रतिपक्षी दलका सांसदहरूले अवरोध गरेपछि सत्ता पक्षका सांसदले पनि बैठक सञ्चालन गर्नुपर्ने माग गरेका थिए । दुवै पक्षका सांसदहरुबीचको चर्काचर्कीपछि बैठक भोलिसम्मका लागि स्थगित गरिएको छ ।

प्रतिपक्षी दलले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्त गरेपछि प्रधानमन्त्रीले संसद्मा जवाफ दिनुपर्ने माग गर्दै अवरोध गर्दै आएका छन् ।

अवरोध कायमै राखेपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि स्थगित गरेका थिए । दलहरूबीच सहमति नजुटेपछि सूचना टाँस गरी दिउँसो ४ बजेका लागि बोलाइएको थियो । ४ बजे पनि बैठक बस्न नसकेपछि संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले सूचना टाँस गरेर भोलिसम्मका लागि स्थगित गरिएको जनाए ।

प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ६ को उपनियम (३) अनुसार सोमबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरिएको संसद् सचिवालयका महासचिव पाण्डेयद्वारा जारी सूचनामा उल्लेख छ ।

यो पनि…

संसद्‍‌मा सत्तापक्ष र प्रतिपक्षी सांसदहरूबीच चर्काचर्की, बैठक अवरुद्ध [भिडियो/तस्बिर]
संसद्‍मा लिङ्देनको आक्रोश- राजावादी यहाँ छ, सके जेल हाल्