काठमाडौँ, चैत १८ :

राष्ट्रपति रामचन्द्र पौडेलले ईद (ईद-उल-फित्र) पर्वले  मुस्लिम समुदायको आफ्नो मौलिक संस्कृति र परम्पराको संरक्षण, सम्वर्द्धन र विकास गर्न टेवा पुग्ने विश्वास व्यक्त गरेका छन् ।

मुस्लिम समुदायको इद पर्वका अवसरमा आज शुभकामना दिँदै राष्ट्रपति पौडेलले इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको कामना गरेका छन् ।

उनले सामाजिक एवम् साँस्कृतिक विविधता बीचको एकताले नै नेपाली राष्ट्रियतालाई सबल र सुदृढ बनाएको शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

राष्ट्रपति पौडेलले इस्लाम समुदाय बसोबास गर्ने विभिन्न स्थानहरूमा यो पर्व मनाइने भएकाले सम्पूर्ण नेपालीहरूबीच आपसी समझदारी, दिगो शान्ति एवं भाइचाराको भावनाका साथै बृहत् राष्ट्रिय एकताको सोंच अभिवृद्धि गर्न प्रेरणा मिलोस् भनी कामना व्यक्त गरेका छन् ।

मुस्लिम समुदायले रिस, राग र द्वेषलाई बिर्सेर आपसमा खुसियाली साटासाट गर्दै शुभकामना आदान प्रदान गरी आज हर्षोल्लासका साथ ईद मनाउँदै छन् ।