
देशैभरका इस्लाम धर्मावलम्बीले इद-उल-फित्र (इद) आपसी भाइचारा एवं सामाजिक सद्भाव कायम राख्दै मनाएका छन् ।
देशैभरका इदगाह तथा मस्जिदमा नमाज (प्रार्थना) गर्दै इस्लाम धर्मावलम्बीले इद पर्व हर्षौल्लाससहित मनाएका हुन् ।
यसैबीच काठमाडौंको जामेमस्जिदमा पनि आपसमा अंकमाल गर्दै ‘इद मुबारब’ भन्दै इद मनाइएको छ । पर्साका इस्लाम समुदायले पनि नजिकैका इदगाह तथा मस्जिदमा नमाज पढेर इद मनाएका छन् ।
वीरगन्ज महानगरपालिका २ स्थित इदगाहचोकमा हजारौँ सङ्ख्यामा मुस्लिम समुदायले आपसमा खुसी साटासाट गरेर इद मनाएका छन् । वीरगन्जका हिन्दु समुदायका धर्मावलम्बीले रमजानको अवसरमा इस्लाम समुदायका व्यक्तिलाई ‘इफ्तार’ को आयोजना गरेर शुभकामना आदानप्रदान गर्दै आएका छन् । यसले यहाँका समुदायबीच धार्मिक सहिष्णुता र भ्रातृत्वको विकास गराउँदै आएको छ ।
वीरगन्ज महानगरपालिका उपप्रमुख इम्तियाज आलमले हिन्दु र मुस्लिम समुदाय पुर्खौंदेखि सद्भाव र सहिष्णुता कायम राख्दै आएका बताए । ‘सदियौँदेखि हिन्दु र मुस्लिम समुदायले एक-अर्काको चाडपर्वमा सामेल हुँदै आएका छौँ,’ उनले भने, ‘यसले सामाजिक सद्भाव र एकता कायम राख्न मद्दत पुर्याउँदै आएको छ ।’
वीरगन्ज २, छपकैयाँका नावाफ मियाँ सिद्धिकीले चाडपर्वलाई सामाजिक सद्भाव र भ्रातृत्व कायम गर्ने माध्यमका रूपमा अघि बढाउनुपर्ने बताए । ‘वीरगन्जमा सबै धर्मावलम्बी एकापसमा सद्भाव कायम गरेर बसोबास गर्दै आएका छन्,’ उनले भने ।
वीरगन्जका मस्जिद तथा इदगाहमा बालकदेखि ज्येष्ठ नागरिक उपस्थित भएर आपसमा शुभकामना साटासाट गरेका छन् । ‘हामी इदको अवसरमा एक महिनासम्म भोकै बसेर रोजा ‘व्रत’ बस्यौँ । नमाज पढेर रोजा तोडेका छौँ,’ मुस्लिम समुदायका अगुवा मन्सुर अहम्मदले भने, ‘आज हामीले घरमा इष्टमित्र बोलाएर सेबई र अरु मीठो परिकार खाने र खुवाउने परम्परा छ ।’
इदका दिन मुस्लिम समुदायका व्रतालु बिहानै मस्जिद र इदगाहमा पुगी सामूहिक नमाज पढेर आफू तथा आफ्नो परिवारको तर्फबाट भएको गल्तीको क्षमायाचना गर्दै अल्लाह (ईश्वर)सँग आशीर्वाद लिने गर्छन् । वीरगन्जमा इदगाहचोक, छपकैया, मुर्ली, नगवा, नयकाटोलालगायत स्थानमा पुगी नमाज पढेर दुवा अर्थात् आशीर्वाद मागेको दृश्य देखिन्थ्यो । नमाज पढेर सकेपछि मुस्लिम समुदायले एकापसमा अंकमाल गर्दै इदको शुभकामना साटासाट गरेका छन् ।
नेपालगन्जमा पनि धुमधामले मनाइयो इद
बाँकेमा पनि इस्लाम धर्मावलम्बीले धुमधामका साथ इद उल फित्र (इद) मनाएका छन् । नेपालगन्जमा आज बिहान सामूहिक रुपमा नमाज पढिएको छ । बीपी चोकस्थित इदगाहमा सामूहिक नमाज पढिएको हो । इदगाहभित्र ठाउँ नपुगेर बाहिर सडकमै बसेर पनि नमाज पढिएको थियो । सो अवसरमा आपसमा अंकमाल गर्दै शुभकामना आदानप्रदान गरिएको थियो ।