मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
खेलकुद भलिबल

मुख्यमन्त्री कप प्रदेशस्तरीय महिला भलिबल आजदेखि 

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २० चैत, २०८१ मा प्रकाशित
मुख्यमन्त्री कप प्रदेशस्तरीय महिला भलिबल आजदेखि 
दाङ, चैत २० :

आजबाट मुख्यमन्त्री कप ‘प्रदेशस्तरीय महिला भलिबल प्रतियोगिता २०८१’ घोराहीमा हुने भएको छ ।
   
प्रदेश खेलकुद परिषद्, लुम्बिनीको आयोजनामा हुन लागेको प्रतियोगितामा प्रदेशभरका १२ जिल्लाका खेलाडीको सहभागिता रहेको छ ।

जिल्ला खेलकुद विकास समिति मातहत सम्बन्धित जिल्लाबाट खेलाडी सहभागी हुने प्रतियोगिता घोराही उपमहानगरपालिका- १५ स्थित जिल्ला समन्वय समितिको सहिद मञ्चमा हुने प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तीरनदाज गौतमले जानकारी दिए ।

लिगकम नकआउटको आधारमा खेलाइने प्रतियोगिता अन्तर्राष्ट्रिय भलिबल महासङ्घको नियमानुसार खेलाइने उनले बताए । प्रदेशमा दक्ष महिला खेलाडी उत्पादन गर्न र भलिबलको विकासका लागि प्रदेश स्तरीय प्रतियोगिता आयोजना गरिएको उनले बताए ।

सहभागी टिममा १२ जना खेलाडी, एक जना टिम प्रशिक्षक र एक जना टिम व्यवस्थापक गरी जम्मा १४ जनासम्म हुने गरी कार्यविधि बनाइएको छ । सहभागी टिमबाट खेल्ने खेलाडी सम्बन्धित जिल्लाको हुनुपर्ने, खेलाडीले आफ्नो नागरिकता वा ठेगाना खुल्ने सरकारी कागजातको सक्कल प्रमाण–पत्र र सोको प्रतिलिपि अनिवार्य ल्याउनुपर्ने नियम बनाइएको छ ।

आयोजकले खेल सञ्चालन हुने जिल्लाबाहेक अन्य जिल्लाका खेलाडी, टिम प्रशिक्षक र टिम व्यवस्थापकलाई यातायातवापत रकम उपलब्ध गराउने तथा सहभागी टिमलाई खाना तथा आवासको रकम उपलब्ध गराउने जनाएको छ ।

प्रतियोगिताको उपाधि विजेताले नगद एक लाख, मेडल, ट्रफी र प्रमाणपत्र पुरस्कार पाउने छ भने उपविजेताले नगद ६५ हजार, मेडल, ट्रफी र प्रमाण-पत्र पुरस्कार पाउने आयोजक प्रदेश खेलकुद परिषद्का सदस्य कैलाश रोका मगरले जानकारी दिए ।
त्यसैगरी, तृतीय पुरस्कार नगद ३५ हजार, मेडल, ट्रफी र प्रमाणपत्र र सान्त्वना हुने टिमले नगद १५ हजार प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई नगद १० हजार, मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिनुका साथै छ विधामा उत्कृष्ट हुने खेलाडीलाई जनही पाँच हजार, मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिने भएको छ ।

हालै अर्घाखाँचीको सन्धिखर्कमा मुख्यमन्त्री कप प्रदेशस्तरीय पुरुष भलिबल प्रतियोगिता गरिएको थियो । आयोजक प्रदेश खेलकुद परिषद्, लुम्बिनीले यसपछि प्रदेशस्तरीय क्रिकेट प्रतियोगिता चैत २५ बाट तथा फुटबल प्रतियोगिता चैत २७ गतेबाट गर्ने तयारी गरेको छ ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार