रूपन्देही, चैत २१ :

भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल एकपटक पुनः सुनसान भएको छ । 

मार्च २९ अर्थात यही चैत १६ गते सम्म केही चहलपहल रहेको विमानस्थलमा त्यसयता विमान कम्पनीले उडान गर्ने चासो नदेखाएका कारण सुनसान बन्न पुगेको हो । 

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सञ्चालनका लागि उडान भरिरहेको वायुसेवा कम्पनीले गर्मीयामका लागि ‘समर शेड्युल’ लिएका छैनन् । यसले अब सातामा एक दिन नेपाल एयरलाइन्सको विमान बाहेक अन्य अन्तरराष्ट्रिय उडान हुने छैन । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १८ घण्टा सञ्चालन आएसँगै भैरहवाबाट उडान भरिरहेका विमान बन्द हुनु संयोग मात्र हुन नसक्ने भन्दै स्थानीय व्यवसायीले आक्रोश पोखेका छन् । 

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट उडान अवधि घट्दा भैरहवा विमानस्थललाई ‘डाइभर्सन पुल’ को रूपमा प्रयोग गरिएको भन्दै भैरहवाका व्यवसायीले आक्रोश व्यक्त गरेका हुन् ।

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलका प्रवक्ता श्यामकिशोर साहले भैरहवाबाट उडान हुँदै आएका जजिरा एयरलाइन्स, फ्लाई दुबई, थाइ एयर एसियाले ‘समर शेड्युल’ नलिएको बताए । उनले जजिरा एयरवेजले अलिकता आशा भने देखाएको बताए । ‘मे’ महिनादेखि जजिराले भैरहवाबाट उडान भर्ने आश्वासन दिएको साहले जानकारी दिए ।

साहले भैरहवा विमानस्थलबाट उडान र अवतरण तथा सेवा प्रवाहमा भने कुनै समस्या नरहेको जिकिर गरे । “सुरूमा जनवरीमा महिनामा ‘लो भिजिविलिटी’ को कारण थोरै समस्या भयो । तर यो नगण्य मात्रामा थियो”, उनले भने, “वायुसेवा कम्पनीलाई, यात्रुलाई दिनुपर्ने सेवा प्रवाह तथा प्राविधिकसम्बन्धी अन्य खासै समस्या आएन ।”

साहले विमानस्थल सञ्चालनमा सरकारको मात्र नभई निजी क्षेत्रको उत्तिकै महत्त्वपूर्ण भूमिका रहेको तर निजी क्षेत्र नै यहाँ आउन इच्छुक नरहेको जिकिर गरे । “विमानस्थल सञ्चालन हुनु भनेको अन्य व्यवसायको जननी हो, व्यवसाय मुख्य ‘हब’ भएको यस्तो स्थानमा निजी क्षेत्रको पहल अलि कम भएको मेरो विश्लेषण रहेको छ”, उनले भने, “काठमाडौँबाट उड्ने सबै यात्रु काठमाडौँकै होइनन्, समग्र नेपालका हुन् । यस्तो अवस्थामा सबै यात्रु काठमाडौँबाट नै उड्न खोज्नु भन्नु भैरहवामा केही जटिलता त छ भन्ने देखाउँछ ।”

प्रवक्ता साहका अनुसार वैदेशिक उडानको लागि आवश्यक पर्ने भिसा सेन्टर, श्रम स्वीकृति, मेन पावर, ट्राभल एजेन्सीलगायत तालमाल मिलेको देखिँदैन ।

काठमाडौँमा केन्द्रित ठूला ट्राभल एजेन्सी र मेनपावर एजेन्सीलाई यता आकर्षित गर्न सकिए मात्र विमानस्थल दीर्घकालीन रूपमा सञ्चालन हुन सक्ने उनको बुझाइ छ । यसको लागि सरकारले पहल गरे निजी क्षेत्रले भने पहल गर्न नसकेको उनको भनाइ छ । 

अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्न हवाइ इन्धनदेखि टिकट सहुलियत सरकारले दिइरहेको छ । सरकारले पर्यटन बोर्डले प्रतिटिकट लिने शुल्क पनि उक्त समयभर दुई विमानस्थलको हकमा नलिने गरी सहुलियत दिने र हवाइ टिकटमा लगाइएको भ्याट पनि २०८३ भदौसम्म छुट दिएको छ । 

काठमाडौँको विमानस्थलमा उपलब्ध हुने इन्धनको मूल्यभन्दा भैरहवामा इन्धनको मूल्य सस्तो रहेको छ । तर सरकारले प्रदान गर्ने यस्ता सुविधालाई समयमै दिनुपर्ने भन्दै सरोकारवालाले सरकारको ध्यानाकर्षण गराएका छन् ।