कञ्चनपुर, चैत २४ :
कलाकार तेजा ऐरको निधन भएको छ ।
नेपाली चलचित्रमा खलनायकको भूमिका निभाएका उनको शुक्लाफाँटा नगरपालिका- १० झलारीस्थित आफ्नै निवासमा शनिबार ५६ वर्षको उमेरमा निधन भएको तेजाका भाई डबलबहादुरले जानकारी दिए ।
कलाकार ऐर दुई वर्षदेखि पक्षघात र मिर्गौलासम्बन्धी समस्याबाट पीडित थिए । तीन दशकदेखि सानाठूला नेपाली चलचित्रमा ऐरले खलनायकको भूमिकामा अभिनय गर्दै आएका थिए । थारू भाषाको चलचित्र ‘मोर बस्ती’ बाट यस क्षेत्रमा डेब्यु गरेका ऐरले थारू, नेपाली र भोजपुरी भाषाका झण्डै एक सय चलचित्रमा खलनायकको भूमिका निर्वाह गरेका थिए ।
ऐरले सत्या, हिरासत, विजयपथ, विरासत, हिम्मतवाली, जय परशुराम, रामजाने, कमाण्डरलगायत चलचित्रमा अभिनय गरे । विभिन्न टेलिफिल्म र म्युजिक भिडियोमा समेत उनले अभिनय गरेका थिए ।