
फाइल फोटो ।
माओवादी केन्द्रले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई पार्टीको उपाध्यक्षमा मनोनीत गरेको छ। हालै सम्पन्न पदाधिकारी बैठकले पुनलाई केन्द्रिय सदस्य, त्यसपछि स्थायी कमिटी सदस्य हुँदै उपाध्यक्ष पदमा पुर्याएको हो। एक नेताका अनुसार, उनलाई उपाध्यक्ष बनाइएको सूचना पार्टीका तल्ला कमिटीहरूमा सर्कुलरमार्फत् जानकारी गराइएको छ।
यसअघि पुन पार्टीको उत्पादनसम्बन्धी ब्युरोका इन्चार्जको जिम्मेवारीमा थिए। उनी हालसम्म पार्टीका बैठकहरूमा आमन्त्रित नेताको हैसियतमा सहभागी हुँदै आएका थिए। उपराष्ट्रपति भइसकेका व्यक्ति पुनः राजनीतिमा सक्रिय हुन खोजेकोप्रति माओवादीभित्रै असन्तुष्टि सुरु भएको छ । अब भने पार्टीको नेतृत्व तहमा पुनको औपचारिक प्रवेशसँगै उनको भूमिकामा थप सशक्तता आएको देखिएको छ। यसैगरी पूर्वराष्ट्रपति विद्या भण्डारी पनि एमालेमा कुनै जिम्मेवारी लिएर राजनीतिमा सक्रिय हुन खोज्दै छिन् ।