
‘मुन्दुम ट्रेल भ्रमण वर्ष- २०२५’ का अवसरमा आगामी सोमबारदेखि खोटाङमा आयोजना हुने दुईदिने ‘रेडपाण्डा तथा थार महोत्सव- २०८२’ को तयारी पूरा भएको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आयोजनामा हुने महोत्सवको उद्देश्य लोपोन्मुख रेडपाण्डा र थारको संरक्षण तथा प्रवर्द्धन भएको नगरप्रमुख तीर्थराज भट्टराईले बताए ।
मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल- हलेसी सडकखण्डको हुर्लुङमा आयोजना हुने महोत्सवमा विभिन्न जातजातिको संस्कार- संस्कृति अनुसारका खाना, वेशभूषा, रहनसहन तथा स्थानीय उत्पादन पनि समावेश गरिने उनले जानकारी दिए ।
स्थानीय कच्चा पदार्थबाट उत्पादित सामग्री तथा रेडपाण्डा र थारसम्बन्धी तस्बिर तथा भिडियो स्टलका रुपमा प्रदर्शनी गरिने जनाइएको छ ।
मध्यपहाडी लोकमार्गको दिक्तेल- हलेसी सडकखण्डको हुर्लुङबाट सुरु हुने ‘मुन्दुम ट्रेल रेडपाण्डा- थार रुट’को शुभारम्भ ‘मुन्दुम ट्रेल भ्रमण वर्ष- २०२५’ का सद्भावनादूत अभिनेता दयाहाङ राईले गर्नेछन् ।
गत पुसमा शुभारम्भ भएको ‘मुन्दुम ट्रेल भ्रमण वर्ष- २०२५’ मा आन्तरिक तथा बाह्य गरी करिब एक लाखको हाराहारीमा पर्यटक भित्र्याउने लक्ष्य छ । किराती मिथक तथा संस्कार- संस्कृतिसँग जोडिएको मुन्दुम ट्रेललाई सरकारले १०० पर्यटकीय गन्तव्यको सूचीमा समावेश गरेको छ ।
खोटाङ र भोजपुरको सीमामा पर्ने यो ‘मुन्दुम ट्रेल’ तीन हजार १६५ मिटर अग्लो टेम्केडाँडा हुँदै मैयुङ, तीन हजार ७५० मिटरको साल्पापोखरी तथा चार हजार १६५ मिटरको सिलिचुङसम्म पुगेर टुङ्गिन्छ ।
पहाडै पहाडको चुचुरामा निर्माण गरिएको ‘भर्जिन’ गन्तव्यको रुपमा चिनिने ‘मुन्दुम ट्रेल’ पूरा गर्न विदेशी पर्यटकका लागि करिब १३ दिन तथा नेपालीका लागि दश दिन लाग्ने मैयुङ- टेम्क- साल्पा- सिलिचुङ पर्यटन प्रवर्द्धन केन्द्रका अध्यक्ष रमेश राईले बताए ।