
काठमाडाैं, वैशाख १ :
श्रीमतीलाई जबरजस्ती करणी गरेको अभियोगमा जिल्ला अदालतबाट दोषी ठहर भएका निलम्बित न्यायाधीश भुवन गिरी उच्च अदालतबाट सफाइ पाएपछि जेलमुक्त भएका छन्।
जिल्ला अदालत काठमाडौँका न्यायाधीश दुर्गाप्रसाद भुसालको इजलासले गत जेठ २९ गते गिरीलाई सात वर्ष कैद र तीन लाख रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो। उक्त फैसलाविरुद्ध परेको पुनरावेदनमा उच्च अदालत पाटनले फैसला उल्ट्याउँदै गिरीलाई दोषमुक्त ठहर गरेको हो।
आइतबार उच्च अदालत पाटनका न्यायाधीशहरू लालबहादुर कुँवर र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले जिल्ला अदालतको फैसलालाई बदर गर्दै गिरीलाई सफाइ दिएको हो। अदालतको आदेश औपचारिक रूपमा प्राप्त भएपछि गिरी सोमबार(आज) बिहान डिल्लीबजार कारागारबाट रिहा भएका छन्।