काठमाडाैं, वैशाख १ :

भूमिगत लाइन परीक्षणका क्रममा मातातीर्थ सबस्टेसनमा आगलागी भएपछि काठमाडौँ उपत्यकामा वैकल्पिक माध्यमबाट बिजुली उपलब्ध गराइएको छ ।
     
नेपाल विद्युत् प्राधिकरणको मातातीर्थ सबस्टेसनअन्तर्गतको ११ केभी फिडर लाइनमा विद्युत् आपूर्ति नियन्त्रणका लागि प्रयोग हुने ब्रेकर प्यानलमा आइतबार दिउँसो अचानक आगलागी भएपछि विद्युत् अवरुद्ध भएको थियो ।
     
उक्त घटनाका कारण केही समयका लागि तीनवटा फिडरमार्फत वितरण हुने क्षेत्रको विद्युत् आपूर्ति प्रभावित भएको थियो । प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्रभावित भएका अधिकांश क्षेत्रमा आइतबारदेखि विद्युत् आपूर्ति पुनःसञ्चालन गरिसकेको जानकारी दिए ।
     
बूढानीलकण्ठ र चपली सवस्टेसनबाट आवश्यक स्वीचगियर ल्याएर प्रतिस्थापन प्रक्रिया अगाडि बढाइएको शाक्यले बताए । उनले तत्कालका लागि स्युचाटार सवस्टेसनबाट आपूर्ति रिरोटिङ गरी अधिकांश क्षेत्रको विद्युत् सेवा पुनः सञ्चालन ल्याइएको जानकारी दिए ।
     
“केही गलत सूचना बाहिरिएको छ, अधिकांश क्षेत्रमा हिजै आपूर्ति बहाल भइसकेको हो, केवल चन्द्रागिरि आसपासको केही क्षेत्र मात्र बाँकी छ,’उनले भने, ‘जुन क्षेत्रमा धमाधम काम भइरहेको छ, केही समयमै सहज ढंगले विद्युत आपूर्ति हुन्छ ।’  

भूमिगत लाइन परीक्षणको क्रममा आगलागी भएको हुँदा यसको सम्पूर्ण जिम्मेवारी निर्माण ठेकेदारले लिनुपर्ने प्राधिकरणले जनाएको छ । 
      
उक्त घटनाले काठमाडौँ उपत्यकामा निर्माणाधीन भूमिगत केबल प्रणालीको विश्वसनीयता माथि पनि प्रश्न उठाएको छ । भूमिगत पाइपलाइन प्रणालीको स्थायित्व र सम्भावित जोखिमहरूबारे थप अध्ययन आवश्यक रहेको पाइएको छ । आगामी दिनमा यस्ता घटना दोहोरिन नदीन आवश्यक प्राविधिक सुधार र जोखिम मूल्यांकनका उपायहरू अपनाइनुपर्ने देखिन्छ ।

कार्यकारी निर्देशक शाक्यले आगामी दिनमा प्राविधिक त्रुटिको यथार्थ पत्ता लगाई भविष्यमा यस्ता समस्या पुनः नदोहोरिÞने गरी आवश्यक कदम चालिने बताए ।