इलाम, वैशाख १ :

परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले आफू भाइरल हुने नाममा जे पनि बोल्ने तथा एकले अर्कालाई दोषारोपण गर्ने प्रवृत्ति पार्टीभित्र बढेको बताएकी छन् ।

इलामको श्रीअन्तुमा आज (सोमबार) कांग्रेस जिल्ला कार्यसमिति इलामले आयोजना गरेको अग्रज कार्यकर्ता भेटघाट एवं अन्तर्क्रियामा उनले भाइरल हुने नाममा जे पनि बोल्ने प्रवृत्ति बढ्दै गएको र अझ बढी यो प्रवृत्ति नेपाली कांग्रेसमा देखिएको दाबी गरिन् ।

‘आफूले मिडियामा कभरेज पाउनकै लागि कतिपय नेता एवं पार्टीकै विरुद्धमा पनि बोल्ने गरेको देखिन्छ । यसले कुनै व्यक्ति मिडियामा भाइरल त होला । तर त्यसले पार्टीलाई कति क्षति पुग्छ भन्ने कुराको पनि हिसाब गर्नुपर्ने हो,’ उनले भनिन् । राणाले नेताहरुको यस्तो प्रवृत्तिले पार्टीका केन्द्रदेखि तल्लो तहका कार्यकर्ताहरुमा निराशा पैदा गर्ने अनुभव पनि सुनाइन् ।

उनले कांग्रेस अहिले सरकारमै रहेको तर सरकारको विरोध पनि बढी त कांग्रेसकै नेताहरुले गर्ने गरेको आफूले सुनेको प्रसंग उल्लेख गरिन् । ‘आगामी निर्वाचनमा हामीले पार्टीलाई अहिलेको भन्दा ठूलो बनाउनुपर्नेछ । अरु पार्टीहरु मिसन ८४ भन्दै अघि बढेका छन्,’ उनले भनिन्, ‘तर हामी भने देशैभरिका कार्यकर्तालाई एकताबद्ध गरेर पार्टी मजबुत बनाउन लाग्नुको सट्टा आपसी विवाद गर्दै हिँडेका छौँ ।’ 

परराष्ट्रमन्त्री राणाले पार्टीमा आफूलाई चित्त नबुझेका केही कुरा भए पार्टीभित्रै छलफल गर्न सुझाइन् । उनले आफ्ना गुनासा र असन्तुष्टि भाषण गर्दै हिँड्ने विषय नभएको पनि स्पष्ट गरिन् । पार्टी सभापति शेरबहादुर देउवाको अथक प्रयासबाट गएको स्थानीय तथा संसदीय निर्वाचनमा कांग्रेस सबैभन्दा ठुलो पार्टी बन्न सफल भएको प्रसंग उल्लेख गर्दै उनले आगामी निर्वाचनमा त झन् कुनै पार्टीसँग गठबन्धन नगर्ने भएकाले योभन्दा झन् ठूलो पार्टी बनाउन अहिल्यैदेखि अभियान थाल्नुपर्नेमा उनको जोड थियो ।

राणाले पार्टीमा महिलाको धेरै ठुलो योगदान रहेकाले महिलाको समानुपातिक सहभागिता हुनुपर्ने धारणा राखिन् । उनले भनिन्, ‘कुनै पनि पार्टीमा महिलालाई अघि बढ्न सजिलो छैन । जस्तो कि म पनि कुनै गल्ती नगर्दा पनि कस्तो खेदाइमा परेकी थिएँ भन्ने त यहाँहरुले देख्नुभएकै छ । पार्टीमा सशक्त भूमिकाका लागि महिला पनि सक्रिय रुपमा लाग्नुपर्दछ ।’  

उनले त्यस अवसरमा इलामको बृहत्तर हितका लागि आफूले सक्दो पहल गर्ने आश्वासन दिइन् । कांग्रेसका कोसी प्रदेश सभापति उद्धव थापा र इलाम जिल्ला सभापति डम्बर खड्काले इलामको विकासका लागि संघीय सरकारको सहयोगको अपेक्षा गरेपछि परराष्ट्रमन्त्री राणाले यस्तो आश्वासन दिएकी हुन् ।