सप्तरी, वैशाख २ :

मधेस प्रिमियर लिग (एमपिएल) को तेस्रो संस्करण आजदेखि सुरु हुँदैछ । 

प्रतियोगिताको मधेस प्रदेशका मुख्यमन्त्री सतिश सिंहले आज बिहान ११ बजे राजविराजस्थित पवि माध्यमिक विद्यालयको खेल मैदानमा उद्घाटन गर्नेछन् । 

उद्घाटन खेलमा छिन्नमस्ता रुपनी मधेस राइडर्स र कोसी दुहबी क्यापिटलले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा कूल छ वटा समूहले प्रतिस्पर्धा गर्ने आयोजक एमपिएलका अध्यक्ष इञ्जिनियर सञ्जीनारायण यादवले जानकारी दिए । 

उद्घाटनका दिन एउटा मात्र खेल हुने जनाउँदै उनले यशी वैशाख ८ गतेसम्म दैनिक दुई वटाका दरले खेल हुने बताए ।

वैशाख १० गते सेमिफाइनलका दुवै खेल र ११ गते फाइनल प्रतियोगिता हुने छन् । लिग चरणका १५, दुई वटा सेमिफाइनल र एउटा फाइनल गरी कूल १८ खेल हुनेछन् ।

प्रतियोगिताको उपाधि जित्ने टिमलाई नौ लाख एक हजार र उपविजेतालाई  चार लाखसहित शिल्ड प्रदान गरिने छ । प्रतियोगिताका सबै खेल पवि माविकै खेल मैदानमा हुनेछन् ।

प्रतियोगितामा राष्ट्रिय क्रिकेट टिमका खेलाडी दिपेन्द्रसिंह ऐरी, कुशल भूर्तेल, आसिफ शेख, गुलसन झा, बसिर अहमद, नन्दन यादव, विवेक यादव, आरिफ शेख, ललित राजबन्सीसहितका खेलाडी विभिन्न टिममा आबद्ध रहने छन् ।