काठमाडौं, वैशाख २ :

गैरआवासीय नेपाली जापानका सुवर्ण कार्कीले चौथो विश्व क्योकुसिन तेजुका कराते च्याम्पियनसिपका रजत विजेता दावा शेर्पालाई नगदसहित सम्मान गरेका छन् ।

कार्कीले दावालाई व्यक्तिगत ५० हजार रुपैयाँ एक कार्यक्रमबीच प्रोत्साहन स्वरुप प्रदान गरे । जापानको फकुओकामा गत फेब्रुअरी २४ तारिखमा भएको प्रतियोगितामा दावाले पुरुष एकल कातामा रजत जितेका थिए ।

प्रोत्साहन पुरस्कार हस्तान्तरणपछि कार्कीले भने, ‘विश्व च्याम्पियनसिपमा पदक जित्नु चानचुने कुरा होइन । यो ऐतिहासिक उपलब्धि हासिल गरेकोमा तपाईं (दावा) लाई बधाई छ । तपाईंको सफलता पैसासँग तुलना गर्न  मिल्दैन । यसलाई मेरोतर्फबाट सम्मान र प्रोत्साहन सम्झनुहोला ।’

कार्कीले सोही प्रतियोगिताका दौरान भएको अन्तर्राष्ट्रिय कराते संगठन क्योकुसिनकाइ-कान (तेजुका समूह), जापानले आयोजना गरेको अन्तर्राष्ट्रिय डान ग्रेडिङ टेस्टबाट पाँचौं डान प्राप्त गर्न सफल नेपाल क्योकुसिन कराते (इको) संघका अध्यक्ष दमन बस्नेतलाई बधाई दिए ।

कार्यक्रममा अध्यक्ष बस्नेतले दावाले जितेको पदक नेपाली फुल कन्ट्याक्ट करातेको इतिहासमा अहिलेसम्मकै ठुलो सफलता भएको बताए ।

दावालाई सोही उपलब्धिका लागि नेपाल क्योकुसिन कराते (इको) संघले पनि गत चैत २८ गते २५ हजार नगदसहित सम्मान गरेको थियो ।